काठमाण्डौँ । करिब ८ बर्षपछि फिल्मको पर्दामा देखिन लागेका महानायक राजेश हमालको फिल्म नरसिंहा अवतारको रिलिज डेट सहित फर्स्टलुक पोष्टर सार्वजनिक भएको छ ।
सोमबार काठमाण्डौंको ग्लोबल कलेजमा आयोजित कार्यक्रममा विद्यार्थीहरुमाँझ फिल्मको पोष्टर सार्वजनिक गरिएको हो। जेठ ९ गतेलाई रिलिज तय गर्दै तयार सार्वजनिक गरिएका पोष्टर मध्ये एउटा पोष्टरलाई कलाकार र ग्लोबल कलेजका विद्यार्थीहरुका साथ सार्वजनिक गरिएको थियो भने अन्य दुई पोष्टर कलेजका छतबाट लोकार्पण गरियो । यो पोष्टरलाई नेपाली सिने इतिहासमै सबैभन्दा लामो पोस्टर भएको दाबी गरिएको छ।

कार्यक्रममा फिल्मका निर्देशक दिवाकर भट्टराईले यो फिल्मलाई भिजुअली भव्य र कथा-पात्रका हिसाबले निकै दमदार बनाइएको बताएका छन्। महानायक हमालले पनि कार्यक्रममा आफ्नो उत्साह पोख्दै करिब तीन सयभन्दा बढी फिल्ममा काम गरिसकेको भए पनि यति ठूलो पोस्टर पहिलो पटक देखेको अनुभव सुनाए। राकेश दाहालले तयार पारेका पोस्टर मध्ये एकमा महानायक हमाल मात्र फिचर्ड छन् भने अर्को पोस्टरमा अभिनेता राज कटुवाल मात्र देखिन्छन्।
फिल्ममा हमाल र कटुवालसँगै सरोज खनाल, नीर शाह, , नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजीव जंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभलिना खड्का, समाइरा थापा, आशा पौडेल लगायतका कलाकारहरूको अभिनय रहनेछ। निर्माणमा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने र नेम महर्जनले लगानी गरेका छन्।
राजेश हमाल नेपाली सिनेमा उद्योगको एउटा युगका रूपमा परिचित छन्। उनको स्टारडम अझै कायमै रहेको छ कि छैन भन्ने प्रश्न ‘नरसिंहाः अवतार’ को प्रदर्शनपछि मात्र पुष्टि हुनेछ। हमाललाई पुनः ठूलो पर्दामा देख्न आतुर दर्शकहरूले उनको नयाँ अवतारलाई कसरी लिन्छन् भन्ने उत्सुकताको केन्द्रमा छ।
News Filmy Newsportal / Nepal