काठमाडौं । राजावादी समूहको आन्दोलनका क्रममा तिनकुनेमा भएको आगलागीमा परेरर पत्रकार सुरेश रजकको मृत्यु प्रकरणसँग मुछिएकी युवती नेपाली फिल्मकी अभिनेत्री एनी कुँवर रहेको खुलासा भएको छ। अधिकांश मिडियाले उनलाई पूर्व सञ्चारकर्मी एनी कुँवरका रूपमा चिनाउँदै समाचार सार्वजनिक गरे पनि न्यूज फिल्मीले उनको थप परिचय सार्वजनिक गरेको हो।
एघार बर्ष अघि ऋषि न्यौपानेको निर्देशनमा बनेको फिल्म ब्रह्मा बाट रजतपट यात्रा सुरु गरेकी एनीले पछिल्लो पटक २०७९ भदौ ३ गतेदेखि प्रदर्शनमा आएको फिल्म माइकल अधिकारी मा डाक्टरको भूमिका निभाएकी थिइन् । उनी ब्रह्माबाट एनएफडीसि अवार्डमा उत्कृष्ट नव अभिनेत्रीको विद्यामा मनोनित समेत भएकी थिईन । केही म्यूजिक भिडियो विज्ञापन र चार वटा फिल्ममा अभिनय गरेकी एनी, मिस राजधानी २०१२ को विजेता पनि हुन जो नेपाली फिल्ममा बेला बखत देखिरहन्छिन ।
तर हालै सार्वजनिक भएको तिनकुने आगलागीको भिडिओले उनलाई विवादमा तानेको हो । एभिन्युज टेलिभिजनका क्यामरापर्सन सुरेश रजकको मृत्यु प्रकरणसँग एनीको नाम जोडिएको हो । भिडिओमा आगलागी हुनु अघि एनी कुँवर सुरेशको कोठामा देखिन्छिन् । त्यसपछि उनी कोठाबाट बाहिर निस्कँदै गर्दा अर्को एक व्यक्ति भर्याङबाट तल झर्दै गरेको देखिन्छ, जसले अनुहार स्कार्फले छोपेका छन् ।
घटनापछि एनीले फेसबुक लाइभ गर्दै आगलागीमा थुनिएका व्यक्तिहरूको मद्दतको लागि अपिल गरिन् । उनले आगो निभाउन प्रयास गरेको बताइए पनि सामाजिक सञ्जालमा यस घटनाबारे विभिन्न आशंका र प्रश्नहरू उठिरहेका छन् ।
सञ्चारकर्मीका रूपमा पनि काम गरेकी एनीले एभिन्युज टेलिभिजनमा खबरभित्रको खबर कार्यक्रमको समाचारवाचिका र न्युज २४ मा कल २४ कार्यक्रम सञ्चालन पनि गरेकी थिइन् । पछिल्लो समय उनी धार्मिक र राजावादी अभियानमा सक्रिय रहेको बताइन्छ । हाल, यो घटनाको अनुसन्धान भइरहेको छ र एनी कुँवरसँग सम्बन्धित विभिन्न प्रतिक्रियाहरू सामाजिक सञ्जालमा निस्किरहेको छ ।
News Filmy Newsportal / Nepal
