कालो दिनमा हरिबंशको ‘भूठान’ रिलिज हुने

काठमाण्डौँ । बैशाख १२ आम नेपालीहरुले कहिले नविर्सिने दिन ।

ठीक दश बर्ष अघि २०७२ साल बैशाख १२ गते विनासकारी महाभूकम्प आएको त्यो कालो दिन । हजारौको घर भत्किएको दिन । सयौ परिवारले आफन्त जन गुमाएको दिन । भुइँचालो गएको दश बर्ष हुन लाग्दा पनि अझै विर्सिन नसकिने त्यो कहालिलाग्दो दिन ।

त्यतिबेला भुइँचालो आएको अघिल्लो दिन देखि अत्यन्त चर्चामा रहेको फिल्म रेशम फिलिली पनि रिलिज भएको थियो । जुन फिल्मको अत्याधिक व्यापार हुने सम्भावनालाई भुइँचालोले तहसनस मात्र गरिदिएन निर्माता माधव वाग्लेको टिमलाई करोडौको घाटा लगाईदिएको थियो ।

अन्यथा नहोस, हामीले त्यो कालो मितिको सम्झना मात्र गरेका हौँ । यो समाचार निर्माणमा नेगेटिभ हुन खोजेका हैनौ । विल्कुल हैनौँ । किन कि बैशाख १२ भनेपछि २०७२ सालको भुइँचालो नसम्झिने कुन चाँहि नेपाली हुन्छ र ? तसर्थ , उक्त कालो दिनको रुपमा चिनिएको मितिमा हरिबंश आचार्य जस्ता मुर्धन्य व्यक्तित्वको मुख्य भूमिका रहेको फिल्म भूठानको प्रर्दशन मिति तय गरिएको खबर सार्वजनिक भएसँगै हामीले भुइँचालोको प्रसंग यहाँ सम्झिएका  मात्र  हौँ । किन कि बैशाख १२ भन्दा  भुइँचालोको सम्झना आईहाल्छ । 

निर्माण टिमले दिएको जानकारी अनुसार भूठान आउँने बर्ष २०८२ को दोश्रो साता बैशाख १२ गते रिलिज हुनेछ । अंग्रेजी शीर्षक ‘The World’s Happiest Man) ’ रहने यस फिल्ममा हरिवंश आचार्यका अतिरिक्त, दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द(लामा, ऋचा घिमिरे, जोयस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी र हलिउडका चर्चित अभिनेता ब्रुस डर्नको विशेष भूमिका रहेको छ।

यस फिल्मले भुटानदेखि भारत, नेपाल हुँदै अमेरिकामा बसोबास गर्ने भुटानीहरूको देशप्रेम, थातथलो छोड्नुपर्दाको पीडा र आफ्ना जरा खोज्ने संघर्षलाई पर्दामा उतार्ने कथा प्रस्तुत गर्दैछ। यस फिल्मको निर्देशन विनोद पौडेलले गरेका छन्, जसले आफ्नो पहिलो फिल्म ‘बुलबुल’बाट नेपालका लागि प्रतिष्ठित ९२औं ओस्कर अवार्डमा प्रतिनिधित्व गरेका थिए।

यस फिल्मका प्रमुख निर्मातामा राजेन्द्र ठकुराठी, अमिताव जोशी, अविरल थापा, सुशांक मैनाली, र किर्तना बाँस्कोटा छन्। कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, एल एन अधिकारी, कौशिला खनाल–कर्माचार्य, रमेश भट्ट, अपार श्रेष्ठ, र भुवन प्याकुरेल छन्। सह-निर्मातामा जोयस पाण्डे, प्रदीप शर्मा (बडाईं) , र नवराज पराजुली रहेका छन्।

फिल्मलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाईट, एभरेष्ट इन्टरटेनमेन्ट, र म्याड मंकी फिल्म्स (अमेरिका) को सहकार्यमा निर्माण गरिएको हो।