बुद्धि तामाङको न्यारेशनमा उत्कृष्ट बन्यो ‘केटी हराएको सूचना’ को ट्रेलर

काठमाण्डौँ । रिलिज मिति हेरफेर भएसँगै हटाईएको पूरानो ट्रेलरमा केही नयाँ एलिमेन्टस थप्दै फिल्म केटी हराएको सूचनाको नयाँ ट्रेलर सार्वजनिक भएको छ ।

लोकप्रिय कलाकार बुद्धि तामाङको न्यारेशन राखेर तयार गरिएको यस ट्रेलरले फिल्मको कथा र परिवेशलाई जीवन्त रुपमा प्रस्तुत गरेको छ। बुद्धिको भ्वाइसओभरले ट्रेलरलाई रोचक बनाउनुका साथै निर्देशकको परिचय सहित सम्पूर्ण फिल्मको भावलाई गहन रूपमा व्याख्या गरेको छ। यो शैली नेपाली फिल्म उद्योगमा पहिलो पटक अपनाइएको हो जसले ट्रेलरमा नयाँपन र प्रभावशीलता थपेको छ। 

फिल्ममा नाजिर हुसेन र सृष्टी श्रेष्ठले मुख्य भूमिका निर्वाह गरेका छन्। तर, बुद्धि तामाङले भने यस फिल्ममा अभिनय  गरेका छैनन्। उनको आवाजलाई मात्र फिल्म युनिटले बाचक (न्यारेटर) को रूपमा प्रयोग गरेको हो।

आउँदो माघ ११ गते देखि रिलिज हुने यो फिल्मले पहाडी–मधेशी मेलमिलापको खोजी गर्ने कथालाई प्रस्तुत गरेको छ। ट्रेलरमा सामाजिक सञ्जाल (डेटिङ एप) बाट बाट भेटिएका दुई पात्र राम (नाजिर) र सीता (सृष्टि) बीचको यात्रा र त्यसमा आउने उतारचढावलाई समेटिएको छ। साथै, केही दिनअघि सार्वजनिक गरिएको गीत सपनीमा का दृश्यहरूले ट्रेलरलाई थप आकर्षक बनाएको छ।

दीपेन्द्र गौचनको निर्देशन र लेखन रहेको यो फिल्म ३२ वर्षअघिको चर्चित डकु–ड्रामा उजेली का निर्देशकको नयाँ प्रस्तुति हो। ट्राई सिटी पिक्चर्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुरलगायतका कलाकारले अभिनय गरेका छन्। हेर्नुस ट्रेलर