नीर शाह भन्छन् ‘नेपालमा वल्र्ड कप देखाउँन यसरी सुरु गरियो’

रातको १ बजे भएको थियो सम्भव

  • June 13, 2018 5:45 pm
  • News FIlmy

२१औँ विश्वकपको औपाचारिक उद्घाटन मुखैमा आएका बेला नेपाल टेलिभिजनका संस्थापक एवं कलाकार नीर शाहले नेपाली मिडियामा पहिलो पटक वल्र्डकप कसरी देखाउँन सकेको भन्ने बारेमा आफ्नो अनुभव सुनाएका छन् ।

पहिलो पोष्ट डटकमका लागि पत्रकार स्वेच्छा राउतले उनीसंग गरेको सम्वादमा आधारित लेखमा शाहले पहिलो पटक नेपाल टेलिभिजनमा वल्र्ड कप प्रसारण गर्दाको रोचक कथा शेयर गरेका छन् । साभार सहित हामीले उक्त रोचक लेख यहाँ प्रस्तुत गरेका छौ । पढ्नुस ।

नीर शाह बेलायतमा टेलिभिजन एण्ड फिल्म म्यानेजमेन्ट पढ्दै थिए र बिदामा मात्रै नेपाल आउँथे। सन्दर्भ १९८२ को हो। त्यस वर्ष बिदा र विश्वकप फुटबल एकैसाथ पर्‍यो। नेपालमा टेलिभिजन सुरुवात नै भएको थिएन। विश्वकप हेर्नकै लागि नयाँ टिभी किनेर ल्याए। एन्टेना र बुस्टर राखेर विदेशी च्यानलको सिग्नल मार्फत टिभी हेर्ने चलन थियो त्यतिखेर। स्पेनमा भएको वर्ल्डकपको धमिलो यादमात्र बाँकी छ उनको स्मृतिमा। ‘इटलीको तेस्रो जित थियो, त्यो। वेस्ट जर्मनीले हारेको हो। तर, म ब्राजिलको समर्थक थिएँ,’ उनले भने।

त्यतिखेर वर्ल्डकप हेर्नु सर्वसाधारणका लागि सजिलो भने थिएन। सुनाए, ‘व्यापक मात्रामा टिभीका सिग्नल सर्च गर्नुपर्थ्यो। अचम्म अचम्मका टिभीबाट आउँथ्यो खेल। ढिला भए पनि, भाषा नबुझे पनि मानिसहरू हेर्थे।‘

फुटबल आफैँमा ग्लोबल ल्याङ्ग्वेज थियो जहाँ समेटिन्थ्यो – गोल, फाउल, कर्नर, अफसाइड आदिआदि। बाँकी कमेन्ट्री नबुझे पनि चल्थ्यो। नेपालीहरू खेल हेर्थे र रमाउँथे।

विश्वकप मात्र होइन, रङ्गशालामा हुने नेपाली खेलहरूको कमेन्ट्री रेडियो नेपालमा सुनेर मज्जा लिनेको जमात ठूलै थियो। प्रत्यक्ष खेल हेर्न जानेहरु बेग्लै भए। टिभी भएर पनि च्यानल नहुनुले कहिल्यै रोकेन खेल हेर्न। किनकी इन्डियन च्यानलहरूले टुक्रा-टुक्रा गरेर ‘डिले ट्रान्समिसन’ भए पनि गराउँथे। नेपालमा फुटबलको क्रेज नयाँ पक्कै थिएन।

34743683_1006787582818402_8821641231441330176_n

सन् १९८५ मा नीर शाहकै नेतृत्वमा ‘नेपाल टेलिभिजन’ प्रसारणमा आयो, राजा वीरेन्द्र वीर विक्रम शाहको जन्मोत्सवको अवसरमा। निकै न्यून जनशक्ति, साधन र आर्थिक स्रोतबाट सुरु भएको थियो नेपालको पहिलो टिभी च्यानल। १५ मिनेटको समाचार बुलेटिन प्रसारण नै उत्साहपूर्ण हुन्थ्यो नीर शाह र उनको टिमलाई। अरू कार्यक्रम र विज्ञापन त धेरै परको विषय। त्यसैले पनि नेपाल टेलिभिजनको दर्शक कम हुनु स्वाभाविक थियो।

‘हामीलाई जसरी पनि दर्शक कमाउनु थियो। त्यो पनि राम्रो केही प्रसारण गरेर,’ शाहले त्यो समय सम्झे जतिबेला नेपाल टेलिभिजनको प्रसारणलाई निरन्तरता दिलाउनु नै ‘च्यालेन्ज’ थियो।

विश्वकप १९८६ शाह र उनको टिमका लागि राम्रो अवसर थियो। ‘विश्वकप हाम्रो स्वार्थसँग जोडिएर आयो। जुन स्वार्थले नेपाल टिभी, नेपाली खेल दर्शक र नेपालमा टिभीसँग जोडिएको इतिहासलाई फाइदैफाइदा गर्‍यो,’ उनले भने।

इन्डियन डिस एन्टेना र त्यसले जोडेको केबुलहरूबाट प्रसारण हुने खेल हेर्ने दर्शक नेपालबाटै प्रसारण हुने टिभीमा आकर्षित हुने सम्भावना थियो। यसले नेपाल टिभी र जनताको सम्बन्ध बिस्तार हुन सक्थ्यो। टिभीमा व्यावसायिक विज्ञापन र आवश्यक सफ्टवेयर भित्र्याउने राम्रो अवसरको ढोका पनि खोल्दै थियो।

कमर्सियल, टेक्निकल र टिआरपी रेटिङको फाइदा देखेर तीर्थलाल श्रेष्ठ, रवीन्द्र शम्शेर राणा, दुर्गानाथ शर्मा लगायतको टोली खेल प्रसारण गराउने निष्कर्षमा पुगे। तर, कसरी गर्ने? न स्रोत साधन पर्याप्त थियो, न जनशक्ति नै। तै पनि विश्वकप फुटबल नेपालीलाई नेपाली टेलिभिजनबाटै देखाउनु महोत्वकांक्षी मिसन बन्यो। ‘हामीले आवश्यक रिसर्च थाल्यौँ,’ नीर शाहले सुनाए, ’धेरैले हाम्रो मिसनलाई सपनाको रूपमा अपव्याख्या गरे।‘

***

नेपाल टेलिभिजन स्थापनासँगै एसियन ब्रोडकास्टिङ युनियन (एबियु) मा सदस्य बनेको थियो। त्यसैले रिसर्च थालेको शैलेन्द्र साकारको टिमले युनियनसँग सदस्य रहेका टिभीको सूची माग्यो जसले विश्वकप फुटबलको राइट्स किनेको थियो। र, फिफासँग राइट्स किन्नेमध्ये कुनकुन च्यानल स्याटेलाइटमा छन् भन्ने बुझ्नु अर्को चरणको खोजको विषय बन्यो। जसमध्ये १२/१४ वटा टिभी स्याटेलाइटमा उपलब्ध रहेछन्। प्रसारण अधिकारको प्रक्रिया व्याख्या गर्दै सुनाए, ‘त्यसपछि हामीले ती च्यानल उपलब्ध फ्रिक्वेन्सीको जानकारी माग्यौँ।’

एबियुको इन्जिनियरिङ टिम यो सबैमा सकारात्मक देखियो। रवीन्द्र राणाले लिड गरेको नेपाल टिभीको इन्जिनियङ टिमलाई राम्रो साथ र सहयोग दियो, आवश्यक जानकारी र अनुमति उपलब्ध गराएर।

‘छुटाउन नहुने नाम जेठाकाजी श्रेष्ठको हो जो हाम्रो मिसनको क्याप्टेन रहे,’ मिसन वर्ल्डकप इन नेपालको कथा सुनाउँदै गर्दा नीर शाहले सम्झिँए, ‘मैले कहिल्यै बिर्सन नसक्ने मान्छे हो उहाँ।‘

जेठाकाजी श्रेष्ठ, दूरसञ्चार संस्थानका तत्कालीन सिनियर इन्जिनियर। नीर शाहका अनुसार उनी स्याटेलाइट कम्युनिकेसनमा दक्ष। ‘त्यो बेला नेपालको स्याटेलाइटसँगको लिंक हुने गेट-वे बलम्बु स्टेसनमात्र थियो। दुईवटा ठूला छाता थिए त्यहाँ। विभिन्न स्याटेलाइटमार्फत् नेपालमा डाटा र अडियो ट्रान्समिट हुन्थे त्यसैबाट। हामीलाई विश्वकपको डाटा तान्नु थियो,’ उनले भने।

त्यसैले बलम्बु स्टेसनका चिफ जेठाकाजी उक्त मिसनको क्याप्टेन बने। श्रेष्ठको टोलीले ३ वटा देशको टिभी च्यानलको फ्रिक्वेन्सी पत्ता लगायो। शाहका अनुसार हंगेरियन, अष्ट्रेलियन र पानामा या मेक्सिकोका स्पोर्ट च्यानल थिए ती।

नेपाली टोलीको पहिलो उद्देश्य ती च्यानलमा प्रसारण हुने खेल रेकर्ड गरेर नेपाल टिभीबाट प्रसारण गर्न मिल्छ कि मिल्दैन खोज्नु थियो। कुन देशको प्रसारणसँग नेपालको समय नजिक हुन्छ र धेरैले बुझ्ने भाषा (अङ्ग्रेजी)मा कमेन्ट्री हुने च्यानल खोज्नु थियो।

सबै कोणबाट हेर्दा अस्ट्रेलियाको च्यानल उपयुक्त हुने निष्कर्ष निस्किएपछि हामीले उक्त च्यानलले फिफासँग विश्वकप प्रदर्शन राइट्स किनेको छ कि छैन बुझ्यौँ। रहेछ,’ नेपाल टिभीले आफैँ फुटबल देखाउन गरेको मिहेनतले सम्भावनाको बाटो देखाइ राख्दाको कुरा निकै भावुक हुँदै सुनाउँछन् उनी। बिर्सन नसकिने केही नाम नछुटाइ भनिरहेका थिए। र, चाहेर पनि सम्झन नसकेका केही मान्छेको जिम्मेवारीबारे पनि बिस्तार लगाउँदै थिए। थपे, ‘सबैले आफ्नो ठाउँबाट सक्दो योगदान पुर्‍याउनु भयो।‘

***

वर्ल्डकप सुरु हुन केही महिना अगावै उक्त च्यानलबाट प्रसारण हुने अन्य गेम रेकर्ड र नेपाल टिभीबाट प्रसारणको ट्रायल भएको थियो। त्यतिखेर उस्तो एड्भान्स साधनहरू थिएनन्। दुईवटा भीएचएस मात्र भएको अवस्थामा गेम रेकर्ड गर्दाको क्षण सम्झँदा फिस्स हाँस्छन् र भन्छन्, ‘आँट न हो। गरियो नै। नतिजा पर्खनुको विकल्प थिएन।’

गेम रेकर्ड गर्ने र केही समयको अन्तरालमा त्यसलाई नेपाली च्यानलबाट प्रसारण गर्न सम्भव भयो। ट्रायलका लागि समस्या थिएन। विश्वकप नै प्रसारण गर्न एबियुसँग विधिपूर्वक सहकार्य गरेको टिभी टिमले सञ्चार मन्त्रालयको अनुमति माग्यो तर पाएन।

‘अनुमतिसँगै केही खर्चको कुरा त आउँछ। तर, प्रस्ताव लिएर जाँदा हामीलाई असम्भव कुरा नगर्न सुझाइयो,’ नीर शाह केही आक्रोशित सुनिन्छन्, ‘नाम भन्दा राम्रो नसुनिएला तर त्यति बेला मन्त्रालयमा जो थिए खुब मुर्ख थिए। ‘कता हो कता हुने खेल यता देखाउने कुरा गरेर नझुक्याउनु’ पो भने।’

लामो छलफल र अनुरोधमा पनि सञ्चार मन्त्रालयले खेल प्रसारणको अनुमति दिएन। त्यसपछि कुरा दरबारसम्म पुग्यो। ट्रायल भइसकेको र विश्वकप देखाउन सम्भव भएको प्रमाणित गरेपछि दरबारले नेपाल टेलिभिजनलाई विश्वकप देखाउने अनुमति दियो।

‘त्यसको लागि दरबार र मन्त्रालयको सचिवलाई राति बलम्बु स्टेसन लगेर फुटबल नै रेकर्ड गरेर देखायौँ। अरू खेल देखाए -यो कहाँ फुटबल हो त, हामीलाई झुक्याउने? भन्लान् भन्ने डरले रातको १ बजेसम्म कुरेरै भए पनि फुटबल नै देखायौँ,’ उनले नेपाल टेलिभिजनको संघर्षका दिनबारे व्याख्या गरे। साभार : पहिलो पोष्टडटकम

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*