NewsFilmy

यस्तो रहेछ ‘पोष्ट ग्राजुएट ‘ केकीको शैक्षिक कथा : पढ्न नभूल्नुस्

झण्डै छाडेकी थिईन् पढाई

  • August 8, 2016 11:21 am
  • News FIlmy

kaki adhikari

यसै साता पोष्ट ग्राजुएशनको अनर प्राप्त गरेकी अभिनेत्री  केकी अधिकारीको बिषयमा एउटा  आर्टिकल सार्वजनिक भएको छ ।

सेतोपाटी डटकमका पत्रकार अशेष अधिकारीको शब्द बनोटमा तयार भएको स्टोरीले तपाईलाई धेरै ठाउँमा प्रेरणा पनि दिन सक्छ । पछिल्लो जेनेरेशनमा सर्वाधिक अध्ययन गर्ने हिरोइनको रुपमा परिचित केकीले आफ्नो  पारिवारिक समस्याका बीच  कसरी सफलता हासिल गरिन् ? पढ्नुस् सेतोपटी डटकमबाट साभार गरिएको यो स्टोरी ।

 

स्नातकोत्तरको टोपी पहिरेपछि केकी अधिकारीले फेसबुकमा स्ट्याटस लेखिन्:

‘मलाई थाहा छैन, हातमा लिएको यो मास्टर्स डिग्रीले मेरो भविष्य परिवर्तन गर्छ कि गर्दैन। तर, आज मैले जे पूरा गरेँ, त्यसमा मलाई गर्व छ। सुटिङको बीचमा समय निकाल्दै पढेका ती दिनहरू, छुटेका कक्षाको पढाइ पूरा गर्न अनिदो बसेका ती रातहरू अनि कठिन र व्यस्त समयका बीचमा परीक्षा दिएर प्राप्त गरेको यो एमबिए डिग्री नै हो, जुन मैले कसैसँग बाँड्नु पर्दैन। यो मेरो लागि हो, मात्र मेरो लागि।’

केकीले सामाजिक सञ्जालमा लेखेको यो भनाइले उनको हालचाल मात्र झल्काउँदैन, पढाइ लेखाइ प्रति लगाव र उनले आफ्नो व्यस्तता बीच कसरी एमबिए पूरा गरिन् भन्ने पनि बुझाउँछ।

 

‘पढन्ते’ हिरोइनको उपमा पाएकी केकीको विद्यार्थी जीवनको सुरुआत आफ्नै घरेलु स्कुलबाट भयो। आफ्नै आमाबुवाले चलाएको स्कुल, जहाँ उनका बुवा बद्री अधिकारी नै प्रिन्सिपल थिए।

kaki adhikari

‘अरू सबै केटाकेटी स्कुल जाने भनेपछि घरबाट ब्याग बोकेर टिफिन हल्लाउँदै जान्छन्, म भने कहीँ जानै परेन, एउटा कोठाबाट अर्को कोठामा गएजस्तै भयो,’ केकीले सेतोपाटीसँग भनिन्, ‘जिन्दगीमा जे पाइएन, त्यसैको रहर बढी हुँदो रहेछ। मलाई पनि साथीहरूजस्तै ठूलो झोला बोकेर स्कुल जान मन लाग्थ्यो, तर त्यो अनुभव कहिल्यै गर्न पाइनँ।’

केकी सानैदेखि पढाइमा अब्बल थिइन्। कक्षामा फस्ट नै हुन्थिन्। धेरैलाई के लाग्दो रहेछ भने, प्रिन्सिपलकी छोरी भएर राम्रो नम्बर ल्याएकी हो, एसएलसीमा हेरौंला!

केकीका लागि आफ्नो इमानदारीमा शंका गर्नेहरूलाई जवाफ दिन एसएलसी नै महत्वपूर्ण कसी थियो। त्यो उनका लागि आत्मसम्मानको परीक्षाभन्दा कम थिएन।

नभन्दै उनले आफूलाई प्रमाणित गरिछाडिन्।

एसएलसीमा केकीको ८६ प्रतिशत आयो।
‘मैले सबैको शंका मेटेँ,’ केकीले भनिन्, ‘आफूलाई प्रमाणित गरेँ।’ यो घटनाले केकीलाई जिन्दगीको पहिलो महत्वपूर्ण पाठ सिकायो– ‘औंला उठाउनेहरू धेरै हुन्छन्, त्यसबाट आत्तिने होइन, बरु आफ्नो कर्मले त्यसलाई जवाफ दिँदै जाने हो।’

उनी भन्छिन्, ‘यो घटनाले अप्ठ्यारा र असजिलासँग लड्ने साहस हुर्काइदियो, जुन आजसम्म मसँग छ।’ एसएलसीले केकीको आत्मसम्मान मात्र जोगाएन, झोला बोकेर टाढा पढ्न जाने इच्छा पनि पूरा गर्यो।  अरु घरपायक कलेज रोज्छन्, केकी भने घरबाट टाढाको कलेज भर्ना भइन्। जोरपाटी बस्ने उनी बानेश्वरको ह्वाइट हाउसमा पढ्न थालिन्।

कलेजमा नयाँ चुनौती उनलाई पर्खिरहेको थियो। त्यहाँ धेरै विद्यार्थी अब्बल थिए। आ–आफ्नो स्कुलका ‘टपर’। ती सबैबीच अघोषित किसिमको प्रतिस्पर्धा हुन्थ्यो। सबै जना कलेजमा राम्रो नतिजा ल्याएर आफ्नो स्कुलको नाक राख्न चाहन्थे। यही दबाबका कारण केकीले एकदिन कक्षा छाडिनन्। सधैं पढाइमै घोत्लिइरहिन्।

स्कुलमा ल्याएको डिस्टिङ्सन प्लस–टुमा पनि जारी रह्यो।

प्लस–टुमा उनले ७६ प्रतिशत ल्याइन्।

यहाँसम्म केकीको जीवन सामान्य र सहज थियो, त्यसपछि भने नयाँ अध्याय सुरु भयो।

त्यस बेला एनटिभी प्लसमा ‘घिन्ताङ’ भन्ने प्रतिस्पर्धात्मक नृत्य कार्यक्रम आउँथ्यो। केकी सानैबाट नाच्न सोखिन थिइन्। घर, स्कुल र कलेजकै वरिपरि बितेको जिन्दगीको दायरा अलि फराकिलो पार्न उनले उक्त नृत्य कार्यक्रममा भाग लिने निधो गरिन्।

त्यसपछि जे भयो, त्यो उनले सोचेको वा योजना गरेको लक्ष्य थिएन।

समय कटाउन जुन मोड रोजेकी थिइन्, त्यसले केकीको जिन्दगीमा नयाँ बाटो नै खनिदियो।

kaki

त्यही कार्यक्रमको एउटा शृंखलामा निर्णायक बनेर आएका गायक मिङ्मा शेर्पाले उनलाई म्युजिक भिडियोको प्रस्ताव गरे। बुवा बद्री कलाक्षेत्रसँग पनि सम्बन्धित भएकाले केकीका लागि त्यो नौलो संसार थिएन। उनले यसअघि पनि कला क्षेत्रबाट विभिन्न निम्तो पाइरहेकी थिइन्। ती निम्तोतर्फ ध्यान यस कारण दिइनन्, किनकि उनका बुवा छोरीको पढाइ बिग्रिएला भनेर चिन्तित थिए। र, सकभर केकीलाई कलाक्षेत्रबाट टाढै राख्न चाहन्थे।
‘सानो बेला म कहिलेकाहीँ बाबा र बाबाका साथीहरुको फिल्ममा डबिङ गर्न जान्थेँ। त्यही बेला पनि मलाई फिल्मको अफर गर्नेहरू धेरै हुन्थे। बाबा ती अफर सिधै रिजेक्ट गर्नुहुन्थ्यो। उहाँलाई मेरो पढाइ बिग्रेला भन्ने डर थियो,’ केकीले भनिन्।  मिङ्माबाट म्युजिक भिडियाको प्रस्ताव आएपछि भने केकीले जीवनमा कहिल्यै नगरेको काम गरिन्।

‘यसअघि मलाई कसैले सिधै आएर म्युजिक भिडियो खेल्ने हो भनेर सोधेको थिएन। त्यो कार्यक्रममा सोधियो। त्यो मेरो जिन्दगीमा सिधै आएको पहिलो अफर थियो। मैले बाबालाई सोध्दै नसोधी हुन्छ भनेँ,’ उनले भनिन्, ‘सायद, मैले जिन्दगीमा आफैंले लिएको पहिलो निर्णय पनि त्यही थियो।’

हुन्छ त भनिन्, तर म्युजिक भिडियो खेल्ने भनेको लुकिछिपी गर्न सकिने काम थिएन। बुवाले सहमति दिने विश्वास पनि उनलाई थिएन। बुवालाई त छोरी ‘घिन्ताङ’ कार्यक्रममा नाच्न गएकै मन परेको थिएन।

केकीले घुमाउरो तरिकाबाट आमालाई सम्झाउन खोजिन्। भनिन्, ‘घिन्ताङबाट एउटा प्रोमोसनल भिडियोको अफर आएको छ। गरेन भने कार्यक्रमबाटै आउट हुन्छ रे।’

आमाले जवाफ दिइन्, ‘घर फर्कंदा साँझ चाहिँ नपार्नु नि।’

उनले त्यतिबेला त सहमति जनाइन्, तर सुटिङको पहिलो दिन नै घर पुग्दा राति ९ बजिसकेको थियो। घरमा ‘किन ढिलो आएको’ भन्ने प्रश्न उठ्यो। उनले नढाँटी जवाफ दिइन्, ‘सुटिङ गर्दागर्दै अबेला भयो।’

बल्ल आमाले खास कुरा थाहा पाइन्। रिसाउँदै भनिन्, ‘तैंले मलाई बाबाको गाली खुवाउने भइस्।’

केकीले आमालाई फकाउन खोजिन्, ‘आधा पूरा भइसक्यो आमा, अब आधा काम बाँकी छ। मैले जसरी पनि यो पूरा गर्नुपर्छ।’ आमासँग अनेक तरिकाबाट अनुमति लिएर उनले दोस्रो दिन सुटिङ पूरा गरिन्।

म्युजिक भिडियो रिलिज हुन नपाउँदै एकदिन उनलाई घरमै फोन आयो। विज्ञापन एजेन्सी ‘थम्सन नेपाल’ ले ‘क्लोज अप’ टुथपेस्टको विज्ञापनमा काम गर्ने अफर गर्यो। उनले अस्वीकार गरिन्।

‘त्यतिबेला मसँग मोबाइल थिएन। कता–कताबाट नम्बर पत्ता लगाएर घरमै फोन गर्नुभयो। एउटा अडिसनका लागि आउनुपर्छ भन्नुभयो। मैले म गर्दिनँ भनेँ। उहाँहरूले फेरि फोन गरेर कन्भिन्स गर्न खोज्नुभयो,’ केकीले सम्झनाको पोयो फुकाउँदै भनिन्, ‘दोस्रोपटक पनि फोन आएपछि मलाई एकचोटि आँट्न मन लाग्यो।’

‘मान्छेको जीवनमा कस्तो हुँदो रहेछ भने भाग्यले पछ्याइ–पछ्याइ आउँदो रहेछ। मलाई पनि त्यस्तै भयो।’

त्यतिबेला केकी प्राइम कलेजमा स्नातक भर्ना भइसकेकी थिइन्। एकाएक युनिलिभरको विज्ञापनमा अफर आएपछि उनलाई अलमल भयो। तै साथीको घरमा लुगा फेरेर ‘अडिसन’ दिन गइन्। र, छानिइन्।  पहिलो काम त बाबुलाई सोध्दै नसोधी गरेकी थिइन्, यसपालि भने छल्न मन मानेन। उनले घर फर्कंदा माइक्रोमा सँगै रहेका बाबुलाई आफू विज्ञापनमा छानिएको खबर सुनाइन्।

‘बाबा बाहिरको एड छ, म गर्छु,’ उनले भनिन्, ‘साँझ पर्दैन।’ यसपालि त झन् ढिला भयो। मेकअप गर्दागर्दै राति मात्र सुटिङ सुरु भयो। बद्रीले हस्तक्षेप गरे। भने, ‘दुईवटा गर्यौ, अब पुग्यो।’ त्यसपछि एक वर्ष पढाइ नै केकीको ‘फुलटाइम’ काम भयो।

तेस्रो प्रस्ताव लिएर आइपुगे प्रसन्न पौडेल। उनले केकीलाई ‘वनमा फुल्यो फूल’ बोलमा रिमिक्स गीतको म्युजिक भिडियो खेल्न प्रस्ताव गरेका थिए। यसपटक बाबु पनि राजी भए।

‘त्यो भिडियोका लागि काठमाडौं बाहिर जानुपर्थ्यो। गएँ र गरेँ,’ केकीले सुनाइन्।

यता केकी ग्ल्यामर दुनियाँमा प्रवेश गर्दै थिइन्, उता झन्डैझन्डै त्यही बेला उनको परिवार आर्थिक समस्यासँग जुध्न थालेको थियो।

‘स्कूल ऋणमा थियो। पार्टनरहरूसित समस्या परिरहेको थियो। हामीले स्कुल छोड्नुपर्ने भयो। हाम्रो कमाइको मुख्य स्रोत नै त्यही भएकाले आर्थिक समस्याले थिच्न थाल्यो। जुन काम मैले रहरै रहरमा गर्न खोजेकी थिएँ, त्यो काम मेरो बाध्यताजस्तै बन्न पुग्यो,’ केकीले भनिन्।

परिवारको आर्थिक समस्या टार्न केकीले म्युजिक भिडियोको संख्या ह्वात्तै बढाइन्। त्यही बेला पत्रिकामा उनको घर लिलामीको सूचना निस्क्यो। उनीहरूले घर बेच्नुपर्ने भयो।

थाहै नपाई बाबाकी प्यारी छोरी बाबाको सबभन्दा ठूलो संकटमा नजिकको साथी बन्न पुगिन्।

घर लिलामीको सूचना निस्केलगत्तै केकीले फेसबुकमा लेखेकी थिइन्, ‘जीवनमा आइपर्ने सानाठूला कठिनाइले म र मेरो परिवारलाई कहिल्यै विचलित बनाउने छैन। मेरो स्थानमा अरू जोकोही भए पनि यस्तो परिस्थितिमा उक्त व्यक्तिले निर्वाह गर्ने भूमिका मेरोभन्दा भिन्न हुन्छ जस्तो मलाई लाग्दैन। जस्तोसुकै अवस्थामा पनि मेरो बुवा र आमा नै मेरो प्रेरणाका स्रोत हुन् र रहनेछन्।’

‘सुखदुःख भनेको घामछायाँ जस्तै हो। केही भौतिक सुख गुमाएँ होला। तर, शून्यबाट सुरु गरेर अनन्तसम्म पुग्न सक्ने आत्मविश्वास गुमाएको छुइनँ। मेरो प्रेरणाका स्रोतहरूले सिकाएको संस्कार गुमाएको छुइनँ। त्यसैले होला यी भोगाइ र सिकाइहरूले आफ्नो कामप्रति इमानदार भई सक्रिय रहन थप ऊर्जा मिलेको छ।’

‘विभिन्न माध्यमबाट मसँग सम्पर्क गर्दै मलाई हौसला दिनुहुने, स्नेह र सद्भाव प्रदान गर्नुहुने मेरा सबै आफन्त, परिवारजन, साथीसंगी र मेरा सबै शुभचिन्तकहरूमा हृदयदेखि नै आभार प्रकट गर्दछु। जीवनमा कमाएको सबैभन्दा मूल्यवान सम्पति नै तपाईंहरूको माया र आशिष हुन्। कलाकारका रूपमा योभन्दा बढी अमूल्य अरू के नै हुनसक्छ र? तपाईंहरूको माया र आशिष सदैव कायम रहनेछ भन्ने विश्वास लिएकी छु।’

लिलामी सूचनाले एउटा फाइदा के गर्यो भने, जुन चिजलाई समस्या ठानेर उनीहरू डराइरहेका थिए, आखिरमा समाधान पनि त्यसैमा रहेछ।

‘त्यो सूचना निस्केपछि हाम्रो परिवारको आन्द्राभुँडी सबैलाई थाहा भयो, कसैलाई लुकाउनुपर्ने केही बाँकी रहेन। भाग्यवश घरमा पैसा आउने एउटा बाटो बन्द भए पनि म व्यस्त भएकाले अर्को बाटो खुलिसकेको थियो,’ केकीले भनिन्।

घरपरिवार धान्दै चलचित्र क्षेत्रमा प्रवेशपछि केकीको दैनिकी पनि फेरियो।

सानैदेखि पढाइमा अब्बल केकीले यी सबका बीच पढाइ भने कहिल्यै छाडिनन्। भ्याएसम्म कलेज जान्थिन्। नभए स्वअध्ययन गर्दै पढाइलाई निरन्तरता दिइरहिन्। सुटिङको व्यस्तताबीच पढाइ जारी राख्नु सहज थिएन, तर असम्भव पनि उनले ठानिनन्।
‘पढाइका बीच काम गर्नुपर्ने मैले कामका बीचमा पढाइ गर्न थालेँ। भाग्यको कुरा, कामको बीचमा उपलब्ध हुने थोरै समयको पढाइ नै मेरो लागि पर्याप्त भयो। थोरै पढे पनि धेरै याद हुन्थ्यो,’ उनले भनिन्।

उनी दिउँसोभरि सुटिङ गर्थिन्। राति अबेरसम्म पढ्थिन्। सुटिङबाट घर फर्केपछि कलेजको ‘असाइन्मेन्ट’ सक्नैपर्थ्यो। कहिलेकाहीँ त छर्लंगै रात बित्थ्यो। यो धपेडीले उनको निद्रा पूरै बिग्रियो। सुटिङको बेला पनि फुर्सद पायो कि पढ्न थालिहाल्थिन्। उनको हातमा स्क्रिप्टभन्दा कलेजको किताब नै बढी हुन्थ्यो। कलेज जान नभ्याएको दिन ‘असाइन्मेन्ट’ इमेलबाटै पठाइदिन्थिन्।

‘मेरो आँखा माथिको ‘डार्क सर्कल’ त्यही समयको उपज हो,’ उनले भनिन्, ‘त्यतिबेला धेरै नै काम गरियो, मेहनत गरियो। तर, दुवैमा आधा–आधा समय बाँड्दा शतप्रतिशत दिन सकिनँ कि भन्ने लाग्छ मलाई।’

पढाइमा लगाव कतिसम्म थियो भने, स्नातकमा साह्रै धपेडी भएपछि दुई वर्ष काम रोक्ने हो कि भनेर पनि विचार गरिन्। आमाले सम्झाउँदै भनिन्, ‘एकचोटि ब्रेक भए फेरि सुरु गर्न गाह्रो हुन्छ। जसरी चलिरहेको छ, त्यसरी नै चल्न दे। अहिले जसरी मिलाइरहेकी छेस्, भोलि पनि त्यसरी नै मिल्दै जान्छ। सक्दै सकिनस् भने फेरि विचार गरौंला।’

आमाको यो कुरा उनलाई पनि मन पर्यो। उनी प्रेसिडेन्सियल कलेजमा मास्टर्स पढ्न थालिन्। काम पनि जारी राखिन्। कलेज बिहान ९ बजे सकिन्थ्यो। सुटिङको समयसँग मेल खान्थ्यो। तर, सबै तारतम्य मिलाउँदा पनि उनका धेरै कक्षा छुट्थे। त्यसलाई पछ्याउन उनलाई थप धपेडी पर्थ्यो।

उनी यो समस्यालाई जसरी हुन्छ जितेर अघि बढ्न चाहन्थिन्।
‘आज म जे छु, जस्तो छु, जिन्दगीको त्यही अध्यायले बनाएको हो। मेरो जीवनमा त्यो समय नआउँदो हो त व्यक्तिगत रूपमा यति साहसी, यति बलियो हुने थिइनँ,’ केकीले भनिन्, ‘म अहिले जुनसुकै समस्यासँग लड्न–भिडन सक्ने योद्धा भएकी छु। यो मलाई आफ्नै जिन्दगीले सिकाएको हो।’

र, यही जिन्दगीबाट सिकेको पाठको नतिजा हो, अहिले केकीको हातमा स्नातकोत्तर डिग्री छ।

फेसबुक स्टाटसमा भनेजस्तै केकीले पाएको यो डिग्रीले उनलाई भविष्यमा केही राम्रो गर्ला या नगर्ला त्यसको कुनै ग्यारेन्टी छैन। तर, यसले उनलाई जीवनको मिहिन अर्थ केलाउने बौद्धिकता पक्कै दिनेछ। जिन्दगीमा आउने सुखदुःखका माखेसाङ्लोलाई बुद्धिमतापूर्ण ढंगले सुल्झाउने तागत पक्कै दिनेछ। र, जुन क्षेत्रमा लागे पनि त्यसमा पूरा सुझबुझका साथ निर्णय लिने ल्याकत पक्कै दिनेछ।

किनकि, उनले भनेजस्तै यो डिग्री नै एक मात्र यस्तो चिज हो, जुन उनले कसैसँग बाँड्नु पर्दैन।

यो डिग्री उनकै मात्र हो, उनकै अनवरत मिहिनेतको फल।

तस्बिर : विनोद पोखरेल , श्रीधर पौडेल

 

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*