NewsFilmy

Interview : मरेकाले जल्ने अधिकार गुमाएको हेर्न सकिनँ : रेखा थापा

भन्दै थिए लास जलाउन दाउरा किन्ने पैसानै भएन

  • May 7, 2015 8:08 am
  • News FIlmy

Rekha thapa

फरक काम र शैलीका कारण बेलाबेला चर्चामा आउने अभिनेत्री रेखा थापाले यसपटक भूकम्प पीडित माझ पनि बेग्लै उपस्थिति जनाइन् ।

पशुपति आर्यघाटमा आफन्तको दाहसंस्कार गर्न नसकेकालाई आर्थिक सहयोग प्रदान गर्दै उनले सहयोगको बेग्लै पाटो उजागर गरिन् । एक पोका चाउचाउ दिएर फोटो खिचाई फेसबुकमा छाउन खोज्ने कतिपय सेलिब्रेटीलाई पाठ पढाउँदै उनले भनिन्, ‘अरूको समवेदना माथि खेलबाड गर्नुहुँँदैन, पाप लाग्छ । ’  प्रस्तुत  छ  महाभूकम्प माथि केन्द्रित भई  राजन घिमिरेले  रेखासँग गरेको कुराकानी  ।

भुइँचालो आउँदा तपाईं कहाँ कुन अवस्थामा हुनुहुन्थ्यो ?
– घरमै फोनमा कुरा गर्दै थिएँ । यस्तो भुइँचालो आउला भन्ने कुनै कल्पना कसैले गरेकै थिएन र मैले पनि कल्पना गर्ने कुरा भएन । सुरुमा त हावाहुरी आएजस्तो लाग्यो, केही बेरपछि मात्र भुइँचालो आएको थाहा पाएँ ।

जीवनमा यस्तो भुइँचालो भोग्नु पर्ला जस्तो लागेको थियो ?
– कल्पनै गरेकी थिइनँ । कसैले नसोचेको र सबै नेपालीले एकैसाथ भोगेको पीडा, डर, त्रास हो यो ।

 यसपटकको भुइँचालोबाट के शिक्षा पाउनुभयो ?
– पीडा, दुःख र वेदना त छँदै छ, त्यसबाहेक कहिल्यै बिर्सन या भुल्न नहुने शिक्षा पनि दिएको छ यो भूकम्पले । अस्तव्यस्त बस्ती, घरहरू अनि असुरक्षित जीवन ठूलो समस्या हो भन्ने सन्देश दिएको छ । तीनतलाको नक्सापास गरेर ६ तले घर बनाएर गैरकानुनी काम गर्नेहरूलाई पनि शिक्षा दिएको छ । सरकारी इन्जिनियरहरू जो गैरकानुनी रूपमा घर बनाउन स्वीकृति दिन्छन्, तिनीहरूले पनि शिक्षा पाएका छन् । गाँसभन्दा पनि बास सुरक्षित हुनुपर्छ र बास भएमा गाँस जुटाउन सकिन्छ । त्यसैले बास सुरक्षित बनाउनतिर लाग्नुस् भन्ने शिक्षा पाइएको छ राम्रोसँग ।

 कतिपय कलाकर्मी त चाउचाउ र कुचो लिएर फोटो खिचाई मिडियामा छाउँदा तपाईंचाहिँ सामाजिक सञ्जालमा देखिनुभएन नि ?
– अरू देखिए होलान्, तर म देखिइनँ । किनकि, म आत्मीयता र साथ–सहयोगका कुरालाई प्रचारप्रसारको माध्यम बनाउन चाहन्न । परसेवा गर्न कुनै संस्था खडा गरेर हौवा फैलाउनुभन्दा व्यावहारिक तवरमा सहयोग उपलब्ध गराउन उत्रिहाल्नुपर्छ । यहाँ त कतिपय प्रचारका भोकाहरू संस्था र समूह बनाउनतिर लागे । यस्तो विपत्तिमा त जसले जे सक्छ त्यो सहयोग गर्ने हो । जे होस्, अरूहरू सामाजिक सञ्जालतिर लागे, मचाहिँ लागेँ आर्यघाटतिर ।

आर्यघाटतिर लाग्ने सोचचाहिँ कसरी आयो नि ?
– म शनिबारदेखि नै निरन्तर आर्यघाटमै छु । भूकम्प आएपछि मन र दिमाग शान्त पार्न पशुपतिको मन्दिर जाने क्रममा आर्यघाटमा मेरो नजर प-यो अनि त्यता लागेँ । जीवित शरीर त जसरी पनि बाँच्छ होला, तर मर्ने मान्छेले जल्ने अधिकार गुमाउन लाग्दा मन रोएर आयो । सुरुको तुलनामा अहिले यहाँ दाहसंस्कार गर्न आउनेको सङ्ख्यामा कमी आएको छ । त्यहाँ बाँचेकाहरूको पीडा त एकातिर छँदै थियो अर्कोतर्फ मृत शरीरलाई अँगालो हालेर रुने परिवारको सङ्ख्या पनि कम थिएन । उनीहरू भन्दै थिए लास जलाउन दाउरा किन्ने पैसा नै भएन । यस्तो अवस्था देख्दा मन नै थाम्न सकिनँ र आफैँ दाउरा किनेर उपलब्ध गराउन थालेँ । मलाई लाग्यो कि जस–जसको दाहसंस्कार गर्न मैले दाउरा किनेँ ती व्यक्ति पहिलो जुनीमा मेरा कोही थिए । अब म किरिया बस्नुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई भेट्न जाँदै छु ।

n18

सिङ्गो चलचित्र समूहसँग मिलेर सहयोग गर्न सक्नुहुन्थ्यो, किन एक्लै गर्नुभयो ? यसो गर्दा तपार्इंलाई घमण्डी पनि भने नि कैयनले ?
– भन्नेको मुख थुन्न सकिन्न । मलाई पीडा सहने, व्यथा बुझ्ने र दुःखमा परेकाहरूले आशीर्वाद दिनुभएको छ । दुई–चारजनाले घमण्डी भन्दैमा केही हुँदैन । यतिबेला समूह बनाएर कामभन्दा प्रचारको हौवा पिटाउने नभई अगाडि आएको विपत्तिको सामना वा सहयोग गर्नु अपरिहार्य छ र यही सोचका साथ म आफू खुसी उत्रिएकी हुँ । मलाई लाग्छ– मैले आफ्नो बुद्धि–विवेकले क्षमता अनुरूप सहयोग गरेँ । म सहयोग गर्ने संस्था वा समूह बनाउँदिनँ पनि । अगाडि जे छ र जसरी गर्न सकिन्छ त्यसरी सहयोग गर्छु ।

प्रधानमन्त्रीलाई पनि भेट्नुभयो क्यारे, कस्तो रेस्पोन्स पाउनुभयो ?
– उहाँ खुसी हुनुभयो । सरकारभन्दा अगाडि बढेर तपाईंले आफूले भ्याएसम्म सहयोग गर्नुभयो भन्दै प्रशंसा गर्नुभयो । हामीले नसोचेको काम गर्नुभयो भन्दै स्यावासी दिनुभयो ।

Rekha thapa and sushil koirala
 राहत र उद्धारको मामलामा सरकार कमजोर देखियो पनि भन्छन् नि, तपाईंलाई के लाग्छ ?
– भूकम्पको बेला सरकार कमजोर देखियो भनेर मैले प्रधानमन्त्रीसँग भनेँ । बरु जनता जागरुक भए, तर सरकार अल्मलियो भनी मैले भन्दा उहाँले यो स्वीकार गर्नुभयो । कलाकारहरूले आ–आफ्नो क्षमताअनुसार सामाजिक कार्य गरेकोमा प्रशंसा पनि गर्नुभयो । यस्तो बेलामा फलानोले यति ग-यो, उति ग-यो भन्दा पनि मन, आत्मीयता र साथ ठूलो हो भनेर प्रधानमन्त्रीले प्रसन्नता व्यक्त गर्नुभयो ।

 अब के छ नि तपाईंको योजना ?
– अहिले चलचित्र सम्बन्धी कुनै पनि कार्यक्रममा सहभागी हुने या फिल्म खेल्ने मुड छैन । अब काजकिरिया गरेर बस्नुभएका पीडित नेपालीमाझ पुग्ने योजना छ । यो भूकम्पले नेपालीलाई एक बनाएको छ । मानिसको जीवन खासै केही होइन रहेछ । बाँचुञ्जेल साथ, सहयोग र आपसी सद्भाव हुनुपर्छ भन्ने सन्देश यो भूकम्पले दिएको छ । सबैभन्दा ठूलो त राष्ट्रियता हो भने भावना प्रत्येक नेपालीको मन र दिमागमा छिरेको छ । देश टुक्र्याउने र जातीयताको रूपमा भिडाउन खोज्ने नेताहरूले नराम्ररी शिक्षा पाएका छन् । दुःख पर्दा आखिर जातीयता र सङ्घीयताको मतलब होइन प्रत्येक नेपाली एउटै हुँदारहेछन् भन्ने सकारात्मक शिक्षा पनि मिलेको छ । एउटा नेपालको पीडा र व्यथा अर्को नेपालीले बुझ्नुपर्छ, त्यसमा जातभातको कुरा हुँदैन रहेछ भन्ने शिक्षा मिलेको छ । एउटा नेपालीले अर्को नेपालीको आँसु पुछ्ने र नेपाली–नेपाली जुटेका छन् । जे भयो अब भइसक्यो, त्यसकारण विगतलाई सम्झेर मन र दिमाग गलाउनुभन्दा अब नयाँ बाटो, बिहानी र उद्देश्यका लागि एक भएर अगाडि बढ्नुपर्र्ने अवस्था आएको छ । सबै एक भएर हात मिलाउँदै अगाडि बढौँ ।

साभार : घटना र विचार

 

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*