NewsFilmy

रेशम फिलिली समीक्षा : छड्केले जस्तो दर्शकलाई निराश पार्दैन

हरियाले हसाउँने छन् धेरै

  • April 24, 2015 2:02 pm
  • News FIlmy

Binaya Sherstha

करिब तीन महिना अगाडि ‘रेशम फिलिली’ फिल्मको एउटा गीत रिलिज भयो, ‘जालमा….’। गीत रिलिजसँगै भाइरल बन्यो।

रातारात चुलिएको गीतको चर्चाले फिल्मको चर्चा पनि उस्तै गरि बढ्यो। फिल्म एकाएक नेपाली दर्शकका लागि प्रतिक्षित बन्यो।

सबैलाई फिल्म रिलिजको मिति छिट्टै आइदियोस् भन्ने चाहाना बढ्यो। कारण गीत जत्तिकै फिल्म पनि राम्रो बनेको अनुमान थियो। भलै गीत राम्रो हुँदैमा फिल्म पनि राम्रो हुन्छ भन्ने सोच आफैमा धरातलीय हिसाबले गलत विश्लेषण हो। फिल्म हालसम्मकै प्रतिक्षित फिल्मको सूचिमा सबैभन्दा अगाडि भने रह्यो।

तीन महिनाको अवधिमा ‘जालमा….’ गीतलाई आधिकारिक युट्यूब च्यानलबाट मात्र झण्डै बाइस लाख पटक हेरियो। डेब्यू निर्देशक प्रणव जोशीको फिल्म पूर्णतया हाँस्यप्रधान फिल्म हो।

फिल्म हेरूञ्जेल दर्शकले हाँस्दै मनोरञ्जन लिन्छन्। फिल्म दुई साथी रेशम (विनय श्रेष्ठ) र हरिया (कामेश्वर चौरसिया)को सेरोफेरोमा घुम्छ। हरि नारायण मण्डल उर्फ हरिया र कतार गएर आफ्नी बहिनी ‘सुन्तली’को विहे राम्ररी गरिदिने लक्ष्य बोकेर हिँडेको रेशम परिस्थितिले सँगै भेटिन्छन् र साथी बन्छन्।

रेशमको कतार जाने सपना मेनपावरले पैसा खाइदिएसँगै तुहिन्छ र आमालाई काठमाडौंमै बसेर पनि कतार छु भन्दै फोन गर्छ र बहिनीको बिहे राम्ररी गर्दिनुपर्छ भन्ने आमाको सपनालाई टिकाइराख्छ। तर, फिल्ममा हिरो बन्ने सपना बोकेको हरियाको उट्पट्याङ हर्कतले दुवै काठमाडौको टायर दादा ‘दोर्जे’ (शिशिर वाङ्देल)को निशाना पर्छन्। तस्करीमा दोर्जेको सामान पुलिसले समातेपछि दुबैको मुस्किल थप बढ्छ। kameshor

एक पछिको अर्को समस्याको जञ्जालका बीच पनि रेशम मन सुनितामा (मेनुका प्रधान) अल्झिन पुग्छ। फिल्म बढ्दै जाँदा एकाएक रेशम दुर्घटनामा पर्छ र फिल्म एउटा मोडमा आइपुग्छ। अनि त्यसपछि के हुन्छ, त्यो नै ‘रेशम फिलिलि’को कथा हो। हाँस्यप्रधान भएपनि करिब दुई घण्टा तीस मिनेट लामो फिल्ममा पात्रहरुको भावनात्मक यात्रा पनि उत्तिकै प्रधान छ।

फिल्मको कथा उस्तो नविन नभएपनि फिल्मले दर्शकलाई मनोरञ्जन प्रदान गर्छ। फिल्ममा सबै भन्दा अगाडि कोही छ र केही छ भने त्यो कामेश्वर हो। फिल्ममा उनको ‘कमिक टाइमिङ’ र अभिनयले दर्शकको मन जित्छ। एक हिसाबले भन्नुपर्दा फिल्मलाई उनले नै बोकेका छन्। किनकी फिल्ममा जेजस्ता घटना र मोड आइपुग्छन् ती सब हरियाका मुर्खतापूर्ण हर्कतले घट्छन्।

फिल्म हेरेर हल बाहिर निस्कँदा उनी दर्शकको मनमा बसिसक्छन्। नेपाली फिल्म क्षेत्रले अर्को प्रतिभाशाली अभिनेता पाएको छ। कामेश्वर फिल्मका ‘सो स्टिलर’ हुन्।

डेब्यू निर्देशक प्रणवले आफूलाई सम्भावनाले भरिपूर्ण निर्देशकका रूपमा प्रस्तुत गर्न सफल भएका छन्। मेनुका, विनय,कर्मा, शिशिर, आँशुतोष श्रेष्ठ, अरुंण रेग्मी सबैले आ-आफ्नो भूमिका अनुसार राम्रो काम गरेका छन्। ‘च्यारका’को भुमिकामा अभिनय गरेका आँशुतोषले दर्शकमा आफ्नै किसिमको छाप पार्छन। संवाद, संगीत र व्याकग्राउन्ड म्यूजिक फिल्मका उल्लेखनीय पक्षहरु हुन्।

संवादले फिल्मको कमेडीमा उर्जा थपेको छ। हलबाहिर निस्कदा दर्शकका मुखमा केही संवाद झुण्डिसक्छन्। ‘जालमा…’ गीतको अलावा फिल्मको अन्त्यमा आउने शीर्ष गीत पनि एकदमै मार्मिक र कर्णप्रिय छ।

फिल्म दर्शकका लागि मनोरञ्जनपूर्ण हुँदाहुँदै पनि प्राविधिक कमजोरीबाट मुक्त छैन। फिल्ममा विभिन्न थरीका क्यामराको प्रयोगले गर्दा दृश्यहरुमा एकरूपता छैन। विशेष गरी फिल्मका ‘एरियल सटहरूमा’ ती कुराहरू स्पष्ट देखिन्छ। फिल्म ठाँउ ठाँउमा फोकसमा पनि चुकेको छ। सम्पादनका दृस्टिकोणले दृश्यहरु काट्न कञ्जुसाई गरेको देखिन्छ जसका कारणले फिल्मका केही दृश्य चाहिनेभन्दा लामा छन्। ती दृश्यहरुमा कैची चलाउने प्रशस्त ठाँऊ हुँदाहुँदै पनि कैची नचलाइनु फिल्मको कमजोरी हो।

सम्पादनमा गरिएको कञ्जुस्याइँले फिल्म चुस्त बन्नबाट चुकेको छ जसका कारणले फिल्म लामो भएको अनुभव हुन्छ। पटकथा पनि केही खुकुलो छ।

समग्रमा फिल्मले यस अगाडि सर्वाधिक हाइप पाएको ‘छड्के’ले जस्तो दर्शकलाई निराश पार्दैन। फिल्म हेरूञ्जेल दर्शकले मनोरञ्जन लिन्छन्। फिल्ममा रहेको स्थानीयपनले फिल्म हेर्ने दर्शकलाई बाँध्छ।

साभार : अशेष अधिकारी : सेतोपाटी डटकम

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*