NewsFilmy

पढ्नुस् : निकै मार्मिक छ क्यामेरा पर्सन पुरुषोत्तम प्रधानको पत्नी वियोग स्टोरी

छोरीको नाम राखे अनु

  • April 8, 2015 8:26 pm
  • News FIlmy

purushottom pradhan

खै कहाँबाट शुरू गरौं मेरो मनको भावना। मेरी प्यारी अनुको यादले मन पिरोलिरहेको छ। बेचैन छु उनीसँग बिताएका ती पलहरू सम्झेर।

आज उनी यस धर्तीमा छैनन्, तर यो संसारको कुनै पनि कुनामा बसेर अझै पनि मलाई पर्खिएर बसेकी छिन् कि जस्तो लाग्छ। उनको यादमा रातदिन तड्पिएर बसेको छु उनी फेरि आउँछिन् कि भनेर।

विगतमा उनीसँग बिताएका पलहरू आज पनि मेरो आँखामा झलझली आउँछ। २०४१ सालदेखि गान्धी आदर्श माध्यमिक विद्यालयमा अध्ययन गर्थें। उनी पनि त्यहीँ नै पढ्थिन्। उनको र मेरो भेट त्यहीँ स्कुल पढ्दादेखि नै भएको हो। म त्यतिबेला कक्षा ९ पढ्थें, उनी कक्षा ७ मा पढ्थिन्। म उनलाई त्यति बेलादेखि नै मन पराउँथे। त्यो बालापनको प्रेम थियो।

मैले उनलाई त्यतिबेला आफ्ना मनका भावनाहरूले भरिएको प्रेमपत्र दिएँ। उनले केही जवाफ दिइनन्। त्यसको १ महिनापछि मात्रै उनले हुन्छ भन्ने जवाफ दिइन्। म ब्वाइज होस्टेलमा बस्थें, उनी गर्लस् होस्टेलमा बस्थिन्। तर खाना खाने बेलामा चाहिँ हाम्रो भेटघाट हुन्थ्यो। अन्य बेलामा भेटघाट खासै हुँदैन थियो। होस्टेलमा वार्डेनले गाली गर्ने डरले हामी बोल्न पनि निकै डराई डराई बोल्नुपर्ने हुन्थ्यो। उनको र मेरो भेट केबल चाडपर्वको बेलामा मात्रै हुने गथ्र्यो। उनी मामाघर काठमाडौंको असनमा आएको बेला मात्रै हाम्रो भेट हुन्थ्यो।

समय कति छिटो बित्दो रहेछ। मेरो एसएलसीको परीक्षा पनि नजिकिँदै थियो। म परीक्षाको तयारी गर्नेुपर्ने भएकाले भेटघाट अलि पातलो बन्दै गयो। एसएलसी सकियो, शंकरदेव कलेजमा भर्ना भएँ। त्यतिबेला अहिलेजस्तो मोबाइल फोन थिएन। त्यसलै पत्रमार्फत मनका भावनाहरू आदनप्रदान हुन्थ्यो। कलेज अध्ययनसँगै फिल्म क्षेत्रमा करियर अगाडि बढाइरहेको थिएँ। सायद इमेज च्यानलमा जागिरे थिएँ होला। त्यो बेला मोबाइल लिइसकेको थिएँ। (स्टोरी जारी छ तल जानुस्)

10363777_450291385115737_4327097974435443019_n

उनले मलाई फोनमार्फत मेरो घरमा बिहे हुने कुरा छ तिमी मलाई छिटो विवाह गर भनेर भनेकी थिइन्। मेरो अध्ययन र फिल्मी करियर अगाडि बढाइरहेकाले मैले उनको प्रस्ताव अस्वीकार गरें। त्यसपछि करिब ३ वर्षसम्म उनको र मेरो भेटघाट भएन। तर पनि एउटा नम्बरबाट जहिले फोन आउँथ्यो र जहिले फरक नाम भनिन्थ्यो। मलाई उनको देहान्तपछि थाहा मात्रै थाहा भयो म अरू कोहीसँग लागेको छु कि भनेर उनले उनको साथीलाई फोन गर्न लगाउँदी रहिछिन्।

त्यसपछि २०६८ सालदेखि फेरि हाम्रो भेटघाट हुन थालेको थियो। फेरि उनको र मेरो विवाहको कुरा चल्यो। हाम्रो त्यही नै वर्ष बिहे हुने कुरा थियो तर मेरो ठूलो बुबाको निधन भएको कारणले हुन सकेन। फेरि ०६९ सालमा विवाहको कुरा चल्यो मेरो ठूलो बुबाको आमाको निधन भयो। त्यसपछि ०७० सालमा विवाह गर्ने भनेर मिति तोकेर निमन्त्रणा कार्ड बाँडिसकिएको थियो तर शून्य वर्ष भएको कारणले त्यो वर्ष पनि विवाह हुन सकेन। त्यसपछि ०७१ साल वैशाख २७ गते उनको र मेरो विवाह भयो।

विवाहपछि उनी मलाई एक असल साथीको व्यवहार गर्थिन्। उनलाई मैले पोखरा, लमजुङको विभिन्न रमणीय स्थलहरू घुमाउन लिएर गएको अझै पनि मेरो मानसपटलमा याद आइरहेको छ। यसरी नै दिनहरू बित्दै थिए। म फिल्मको सुटिङका लागि धेरैजसो समय बाहिर नै हुन्थें। तर पनि उनले मलाई दिनहुँ ख्याल गर्थिन्। उनी गर्भवती भएदेखि नै उनले भनेको कुरा अझै पनि सम्झन्छु। उनी भन्थिन्– ‘यदि म मरें भने मेरो छोरीलाई बाख्राको दूध नखुवाउनू है।’ कहिले काहीं उनले गर्ने यस्ता व्यवहारले म अच्चमित हुने गर्थें। (स्टोरी जारी छ तल जानुस्) 

purushottam

उनलाई सुत्केरी व्यथा लागेको दिन थियो त्यो फागुन १२ गते। उनलाई टिचिङ हस्पिटल भर्ना गरिएको थियो। उनले अप्रेसन गरेर छोरीलाई जन्म दिइन्। उनको त्यतिबेलासम्म स्वास्थ्यमा कुनै समस्या आएको थिएन। त्यसपछि उनलाई घरमा ल्याएँ। एक हप्ता घरमा बसेपछि उनी माइत काँडाघारी जान्छु भनिन्। त्यसपछि उनलाई लिएर म काँडाघारी गएँ। दिनहुँ म उनलाई भेट्न गइरहेको हुन्थें। उनले पनि बेलाबेलामा फोन गर्थिन्।

उत्तिकै केयर पनि गर्थिन्। त्यो दिन मलाई राम्रोसँग याद छ, उनी सुत्केरी भएको २४ दिनमात्र पुगेको थियो। उनको त्यतिबेला बल्डप्रेसर अलि हाई थियो। डाक्टरले औषधी खान सुझाव दिएका थिए। उनको अवस्था ठिकै थियो। म उनलाई भेटेर खाना खाएर काँडाघारीबाट बेलुका साढे आठ बजे घर नक्साल आएको थिएँ। घर पुगेपछि फोन गर्नु है भनेकी थिइन्। सामाजिक सन्जालहरू चलाएर व्यस्त भएकाले फोन गर्ने बिर्सेछु। उनले नै मलाई फोन गरिन्। किन फोन नगरेको भन्दै रिसाइन् पनि। मैले सरी भनें, उनले चाँडै सुत्नू भनिन्।purushootom

राति साँढे ११ बजेतिर फेरि उनको नम्बरबाट फोन आयो। उताबाट अनु दिदीको अवस्था राम्रो छैन तपार्इं चाँडै आउनुस् भन्ने खबर आयो। म त सपना हो कि विपना हो जस्तो लागेको थियो। आमाले पनि छिटो भाइलाई लिएर जानू भन्नुभयो। हामी आत्तिँदै काँडाघारीतिर लाग्यौं। उनलाई एम्बुलेन्स बोलाएर हस्पिटल लगेको खबर बाटोमै पाएपछि काँडाघारी नगई सीधै सीएमसी हस्पिटल पुग्यौं। उनलाई इमरजेन्सी वार्डमा राखेर इलेक्ट्रिक सक र अक्सिजन दिइँदै रहेछ। १० मिनेटपछि डा. प्रतीक्षा थापाले हेर्नुस चान्स एकदमै कम छ भगवान्प्रति विश्वास राख्नुस् भन्नुभयो। डाक्टरको कुराले म अवाक् भएँ, बेचैन भएँ, मन थाम्नै सकिनँ। के गरौं कसो गरौं जस्तो भयो। त्यसको केही बेरमा नै एक जना डाक्टर आएर ‘सि इज नो मोर’ भनेपछि त मेरो हात खुट्टै गलेर आयो। छानाबाट खसेजस्तै भयो। यो सपना हो कि विपना हो जस्तो लाग्यो। एकैछिनमा मुटु छियाछिया भयो।

होस हवास सबै उड्यो। तैपनि आफूलाई सम्हाल्न खोजेँ। फेरि छोरीको यादले पिरोल्यो अनि छोरी सुम्सुम्याउन थालेँ। मेरो सानो सुखी संसारमा यत्रो पहाड खस्छ भनेर मैलै सोचेको पनि थिइनँ। जन्मपछि मृत्यु स्वाभाविक छ। यो म पनि बुझ्छु। तर बिहे गरेको एक वर्ष बित्दा नबित्दै, एक महिना पनि नपुगेकी छोरी र मलाई छोडेर उनी यति चाँडै बिदा हुन्छिन् भन्ने कल्पनासम्म पनि गर्न सकेको थिइनँ।

सायद राम्रो मान्छे निष्ठुरी भगवान्का लागि पनि प्रिय हुन्छन्। त्यसैले मेरी मायालुलाई पनि भगवान्ले अल्पायुमै हामीबाट खोसेर लगे। उनी जस्तो असल मानिस मैले आजसम्म पनि देखेको छैन। छोरीको अनुहार हेरेर उनलाई सम्झन्छु। उनकै झझल्कोले गर्दा छोरीको नाम पनि अनु नै राखेको छु। ताकि छोरीलाई बोलाउँदा उनलाई पनि सम्झिरहुँ। बिचरी मेरी प्यारी छोरी, आमा भनेको के हो थाहा नै पाउन नपाई आमाविहीन हुन पुगी। आमाको काखको न्यानो नपाउँदै उसले काख गुमाई। अब उसको आमा भने पनि बुआ भने पनि म नै भएको छु।

तर उनी रुँदा आमालाई खोजेजस्तो लाग्छ। आमालाई बोलाएजस्तो लाग्छ। त्यो नाबालकलाई के थाहा उसकी आमालाई खोसेर लगिसके भनेर। यस्तो दुःख र पीडादायक वियोग कसैलाई नदेऊ, भगवान्सँग यही प्रार्थना गर्दछु।

साभार :  नेपाल समाचारपत्र

2 thoughts on “पढ्नुस् : निकै मार्मिक छ क्यामेरा पर्सन पुरुषोत्तम प्रधानको पत्नी वियोग स्टोरी

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*