NewsFilmy

आफ्ना साथीहरुलाई बरु उसले सोध्दैनथ्यो तर, बाटामा भेटिएका कुकुरहरुलाई उसले खुवाउँथ्यो

सम्साँझै निभ्यो एउटा आलोक

  • November 8, 2014 4:14 pm
  • News FIlmy

Alok Nembang

बिहीवारको साँझ छिप्पिइसकेको थिएन। सामाजिक सञ्जालहरूमा धेरै-धेरैले आधा-आधीमात्रै स्टाटस लेखिरहेका थिए’… हे भगवान त्यो सुनेको कुरा साँचो नगराइदेऊ…’ आदि-इत्यादि।

नभन्दै केहीबेरपछि अनलाइन अनि टेलिभिजनहरूमा ‘ब्रेकिङ’ समाचारहरू छरपष्ट भए, ‘चर्चित निर्देशक मृत फेला।’ रात नछिप्पिदैँ समाचार संसारभर फैलिइसकेको थियो। हो, काठमाडौंको गोंगबुस्थित ग्राण्डी भिल्लाको कोठामा बिहीबार सम्साँझै एउटा ‘आलोक’ निभिसकेको थियो। फिल्मी/कलाकारिता क्षेत्रका ‘आलोक’ नै थिए उनी।

उनलाई सम्झिनेहरूको स्मृति पनि यस्तै छ। न उनी कसैको आँखामा बिझाउँथे, न उनले बनाएको ‘म्यूजिक भिडियो’ कसैको आँखामा बिझाउँथ्यो।

‘भिडियो निर्देशनको एउटा सर्वमान्य सिद्धान्त हो, त्यो भिडियो कसैको आँखामा बिझाउनुहुन्न’ उनीसँगै केही वर्ष कान्तिपुर टेलिभिजनमा बिताएका दिलभूषण पाठक भन्छन्, ‘आलोकले बनाएको भिडियो पनि कसैको आँखामा बिझाउँदैनथ्यो, न ऊ कसैको आँखामा बिझायो।’

भूषणको सम्झनामा भिडियो निर्देशनमा ‘ व्याकरण’को भण्डार नै थिए, आलोक। भन्छन्, ‘भिडियो बनाउँदा पनि धेरै व्याकरण जान्नुपर्छ, त्यो भिडियो व्याकरण ज्ञान उसमा जत्ति छ, यो क्षेत्रमा लागेकाहरू उसको पुस्तामा सायदै होलान्।’

आजभोलि टेलिभिजनका स्त्रि्कनमा देखिने दृश्यहरू बिझाउँने खालका हुन्छन्। ‘तर, आलोकको नाम गाँसिएको दृश्यहरू कसैको आँखामा कहिल्यै बिझाउँदैनन्।’ आलोक निभेपछि धेरैले धेरैथरीका प्रार्थना गरे। तर, भूषणको प्रार्थना छ, ‘यदि भगवानले सुनिरहेका छन् भने उसको सिप र ज्ञान मलाई दिए, उसको आत्माले शान्ति पाउनेछ।’

दुई दशकअघि आलोक म्यूजिक भिडियोको निर्देशन गर्दै कलाकारिताको क्षेत्रमा छिरेका थिए। अमेरिकामा ६ वर्षसम्म पर्फम आर्ट, थिएटर, सिनेमा र कोरियोग्राफी पढेर फर्किएका थिए। नविन के.भट्टराईको ‘लाखौँपटक मैले कोसिस गरेँ’ भन्ने गीतको भिडियो निर्देशन गरेर उनले सांगीतिक यात्राको सुरू गरेका थिए।

म्यूजिक भिडियोमा उनीहरू तीनजनाको एउटा जोडी थियो, क्यामेरापर्सन विदूर पाण्डे, सम्पादक प्रकाश तुलाधर अनि निर्देशक आलोक। र, उनीहरूले बनाउने भिडियोको ब्राण्ड नै भयो – ‘विएपी’। त्यसअघि उनी इमेज टेलिभिजन मा कार्यक्रम चलाउँथे।

त्यसपछि आलोकले ‘सानो संसार’ बाट आफ्नो फिल्मी निर्देशन यात्रा सुरु गरे। २००८ मा उनले निर्देशन गरेको त्यो फिल्म ‘हिट’ पनि भयो। त्यसको दुई वर्षपछि फेरि उनले अर्काे सिनेमा निर्देशन गरे ‘कोही मेरो।’ र, त्यसपछि उनले हालैमात्र निर्देशन गरेको फिल्म ‘अझै पनि’ रिलिज भएको छैन। ‘अझै पनि’ रिलिज नहुँदै आलोक निभिसकेका छन्।

‘आलोक निभ्नु’भन्दा करिब १५–१६ घण्टा अगाडि मात्रै गायक हेमन्त शर्माले फोनमा कुराकानी गरेका थिए। निराशा अनि जीवनका कुरा। ‘करिब १ घण्टा ४ मिनेट  कुराकानी भएको थियो’ हेमन्त त्यो बेला झस्किएका थिए जतिबेला मोडल निराजन प्रधानले रुँदै फोनमा भनेका थिए’ दाई आलोक दाईले सुसाइड गर्नुभयो।’

हेमन्त १५ मिनेटमै ग्राण्डी भिल्ला पुगेका थिए

 

शुक्रवार कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा आलोकलाई श्रद्धाञ्जली दिने क्रममा हेमन्त फूल बोक्दै रेड हुडमा । साथमा पछिल्लो पक्तिमा निर्देशक एवं अभिनेता सुर्दशन थापा जो आलोकको अन्तिम फिल्म 'अझै पनि'का मुख्य अभिनेता समेत हुन ।

शुक्रवार कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा आलोकलाई श्रद्धाञ्जली दिने क्रममा हेमन्त फूल बोक्दै रेड हुडमा । साथमा पछिल्लो पक्तिमा निर्देशक एवं अभिनेता सुर्दशन थापा जो आलोकको अन्तिम फिल्म ‘अझै पनि’का मुख्य अभिनेता समेत हुन ।

हेमन्त सम्झिन्छन्, २०५८ सालमा भएको आलोकसँगको पहिलो भेट। त्यो बेलादेखिको संगत आलोकको जीवनको अन्त्यसम्मै रह्यो। अहिलेसम्म आलोकले शर्माको १४ वटा गीतको भिडियोमा निर्देशन गरिरसकेका छन्। अरु दुईवटा गीतको भिडियो पनि यसै साता बनाउने कुरा थियो। ‘तर अब म उसको अन्त्यष्टीमा जाँदैछु’ उनले भने ‘आलोक गयो, अब रहेन।’

शर्मा र आलोकको सम्बन्ध गीतकार र निर्देशकको मात्रै थिएन। ‘एउटा असल साथीको सम्बन्ध थियो’ आलोकसँगको सम्बन्धलाई उनले यसरी सम्झिन्छन्- ‘कुनैबेला म उसको अभिभावकजस्तै भएर उसलाई सम्झाउँथे।’ आलोक सधै निराशाका कुरा गरिरहन्थे। र, हेमन्तले धेरै सम्झाई बुझाई गर्थे। बुधवार एकघण्टाभन्दा बढी समयसम्म भएको कुराकानीमा पनि त्यस्तै भएको थियो।

यो १२/१३ वर्षसम्मको संगतमा आलोकलाई शर्माले निकै मसिनोगरी चिनेका छन्। मान्छेभन्दा बढी पशुसँग प्रेमलगाव राख्ने आलोकलाई दशैं अघिको एउटा घटनाले निकै पिरोलेको थियो। भएको के थियो भने, उनले निक्कै प्रेम गरेर घरमा पालेको ‘स्पाइसी’ नामको कुुकुर मरेको थियो। त्यसको पिरले उनले करिब १५ दिनसम्म राजधानी नै छोडे। ठाउँठाउँमा भौतारिएका थिए। बीचबीचमा शर्मासँगको कुराकानीमा उनले भन्ने गर्थे, ‘मलाई क्यै नराम्रो गर्छु कि भन्ने डर लाईरा’छ’ फेरि हेमन्तले सम्झाउँथे।

‘जति बुझेपनि नबुझिने मान्छे हो आलोक’ हेमन्त भन्छन्,’ १२ वर्षसम्म मैले उसलाई धेरै चिनिसकेको छु भन्ने लागेको थियो, तर चिनकै रहेनछु।’ आलोक त्यस्तै थिए,’जति चिन्यो, उति नचिनिने, जति जान्यो, उति नजानिने।’

हेमन्त आलोकको कोठामा पुग्दा प्रहरी पनि पुगिसकेको थियो। एउटा डायरी प्रहरीले भुइँबाट उठाए। धेरै त देख्न पाएनन् हेमन्तले, रातो मसीले लेखिएका केही अक्षर भने डायरीबाट पढ्न भ्याए, ‘दुःखी भई सधैँ बाँच्नुभन्दा, हाँसेरै एक दिन मर्नु जाति।’ प्रहरीले त्यो डायरी पनि लगेको छ।’सायद त्यो उसको डायरी थियो’ हेमन्त भन्छन्, ‘मैले उसको जीवनको डायरीलाई त्यत्ति पढ्न भ्याए।’

जहाँ आलोकले सुसाईड गरे । यो घरमा उनी  केही महिनमा अघि मात्र सरेका थिए ।

जहाँ आलोकले सुसाईड गरे । यो घरमा उनी केही महिनमा अघि मात्र सरेका थिए ।

उनीसँगै धेरै समय काम गरेकी नायिका/मोडल निशा अधिकारी उनको बारेमा केही बोल्न सकिनन्। आलोकको शव पोर्ष्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको थियो। निशा शुक्रबार जाँदै थिइन्। सेतोपाटीसँग कुराकानी गर्न खोज्दा उनले भनिन्, ‘म कुरा गर्नसक्ने अवस्थामा छैनँ, अस्पताल जाँदैछु।’ फोनमा उनी रोइरहेको प्रष्टै थाहा भयो।

आलोक मान्छेभन्दा धेरै पशुपंक्षीलाई प्रेम गर्थे। बाटामा कुकुरहरू देख्नै हुन्नथ्यो उनलाई। खाइरहेको बिस्कुट उनी सडकका कुकुरलाई दिन्थे। बाटोमा फोहोर खाइरहेका गाईगोरु देख्दा उनी धेरै घोरिन्थे। अनि अलि सफा ठाउँतिर धपाइदिन्थे।

उनी आफैले पनि घरमा धेरै कुकुर, बिराला अनि अरू पशु पालेका छन्। सबैलाई आफ्नै सन्तानजस्तै माया गर्थे। धेरै अर्न्तवार्ताहरूमा उनले आफ्नो पशुप्रेमलाई खुलाएका छन्। उनीलाई चिन्ने सबै उनको पशुप्रेमदेखि छक्क थिए।

‘४४ वर्षको मेरो सालो, मेरो भाईभन्दा पनि प्यारो थियो’ बिहीबार विहान प्रहरी कार्यालयमा थिए उनका भिनाजु क्याप्टेन तथा अभिनेता विजय लामा।  टेलिफोनमा उनले भने, ‘छोराछोरीपछिको मेरो सबैभन्दा ठूलो फ्यान आलोक नै थियो।’

पुर्ख्याैली घर पाँचथर भएपनि उनको परिवार धेरै पहिलादेखि नै ललितपुरमा बस्दै आएको थियो। तर, लामोसमयदेखि आलोक एक्लै बस्थे। उनी धापासीको त्यो अपार्टमेन्टमा केही महिनाअघि मात्रै सरेका थिए। एउटा अन्तर्वातामा उनले भनेका छन्, ‘मलाई एकान्त मन पर्छ, होहल्ला भएको ठाउँमा म बस्नै सक्दिनँ।’

बुवा धेरै समयअघि बितिसकेपछि घरमा आमा मात्रै छिन्।’तर पनि ऊ एक्लै बस्यो, यो कुनै अनौठो कुरा होइन’ बिजय प्रष्ट्याउँछन् ‘बिहे नगरेको मान्छे पनि त एक्लै बस्छन् नि, उसले बिहे किन गरेन? त्यो त उसको पर्सनल इन्ट्रेष्ट होला।’

बिवाहको बारेमा पनि उनले थुप्रै अन्तवार्तामा भनेका छन्, ‘मलाई इच्छा छैन।’ र उनले भन्न गर्थे, ‘त्यसका लागि म अझैँ तयार भएकै छैनँ।’ भिनाजु विजयको सम्झनामा आलोक आफ्नो कामलाई निक्कै प्रेम गर्थ्याे, त्योभन्दा बढी पशुलाई। ‘आफूले बाटामा भेटेका पशुहरूलाई उसले आफूसँग भएको खानेकुरा सबै दिन्थ्यो’ उनी सम्झन्छन्, ‘आफ्ना साथीहरूलाई बरु उसले सोध्दैनथ्यो तर बाटामा भेटिएका कुकुरहरूलाई खुवाउँथ्यो।’

केही समय अघि आफ्नो सन्तान कुकुरलाई नुहाईदिदै आलोक र दायाँ तर्फ कुकुरलाई त्यसरी ओछ्यानमा माया  गरेर  राख्थे उनी ।

केही समय अघि आफ्नो सन्तान कुकुरलाई नुहाईदिदै आलोक र दायाँ तर्फ कुकुरलाई त्यसरी ओछ्यानमा माया गरेर राख्थे उनी ।

आलोक सानैदेखि नाच्ने गाउने कार्यक्रममा खुब जान्थे। त्यही मन पराउँथे। त्यही भएर होला उनी कला सिक्न अमेरिका गए। ‘त्यहाँ पढेर आएपछि उसले भिडियोमा काम सुरु गर्‍यो’ विजयले भने ‘मलाई लाग्छ, नेपाली भिडियोग्राफीमा उसले नै नयाँपन भित्र्याएको हो।’ दशैंमा साला–भेनाको भेट भएको थियो।’त्यो बेला त्यस्तो केही कुरा भएको थिएन’ विजयले भने ‘त्यसपछि एकैपटक यस्तो अवस्थामा भेट भयो।’

समाचारहरूमा ‘आत्महत्या’ भएको भनिएका छन्। प्रहरीले ‘सुसाइड नोट’ फेला परेको पनि समाचारहरू आइरहेका छन्। तर प्रहरीले पुष्टि गरेको छैन। झुन्डिएको अवस्थामा शव भेटिएको प्रहरीले बताएको छ। तर, त्यसलाई उसले ‘आत्महत्या’ भनेको छैन।

विजय पनि त्यसलाई आत्महत्या मान्दैनन्। सेतोपाटीले कुरा गर्दै जाँदा उनले भने ‘तपाईँ पनि मबाट त्यही सुसाइडको बारेमा शंका गरिरहनुभएको छ, तर प्रहरीको अनुसन्धानपछि मात्रै यसबारेमा समाचार लेख्नुहोला।’

आलोकका बारेमा यसअघि पनि उनका भिनाजु विजयले भनेका थिए ‘आलोक एउटा जोगी हो, उसले २ हजार रुपैयाँ कमायो भने १ हजारभन्दा बढी त उसले कुकुरहरूलाई नै खुवाउँछ, अनि आफ्ना साथी(मान्छे)हरूका लागि धेरै गरे ५ सयमात्रै हो।’

फिल्म अनि म्यूजिक भिडियोमा उनले धेरैजसो झरना बज्राचार्य, नम्रता श्रेष्ठ, निशा अधिकारी, मल्भिका सुब्बा, प्रियंका कार्की, आर्यन सिग्देललगायतकासँग काम गरे।

आलोकले निर्देशन गरेका धेरै म्यूजिक भिडियो अनि फिल्महरूमा खेलिसकेकी झरना बज्राचार्यले बिहीवार बिहानै फेसबुकमा लेखेकी छिन्, ‘सिर्जना र मित्रतामा हामीले धेरै वर्ष बितायौँ, हामीले बिताएका ती सब पलहरू अनि आलोक सधैँ मेरो मुटुमा बसिरहनेछन्।’

झरनाले आलोकलाई सधैँ भन्न गर्थिन्, ‘म तिमीलाई माया गर्छु अनि केयर पनि गर्छु’ र, उनले फेसबुकमा लेखेकी छिन्,’यो तिमीले पहिला पनि सुनेका थियौँ, हामी केही वर्षदेखि सँगै छैनौँ, मलाई लाग्छ त्यो पनि तिम्रो इच्छा र स्वभावअनुसार नै थियो, यी सबलाई पनि मैले स्वीकारीसकेकी थिएँ।’

केही बर्षअघि प्रकाशित वेभ म्यागजिनको कभर पेजमा झरना र आलोक र झरनाले आलोकको निधन पश्चात लेखेको फेसबुक स्टाटस

केही बर्षअघि प्रकाशित वेभ म्यागजिनको कभर पेजमा झरना र आलोक र झरनाले आलोकको निधन पश्चात लेखेको फेसबुक स्टाटस

अर्की अभिनेत्री प्रियंका कार्कीले लेखेकी छिन्, ‘पहिलो पटक आलोक दाईलाई भेट्दा उहाँले भन्नुभएको थियो, मसँग धेरै कुकुर र बिरालाहरू छन्, म उनीहरूसँग नै बस्छु।’ आलोक ठान्दथे कुकुर र बिरालाहरू त मिलेर नै बस्दा रहेछन्, र मान्छेहरू पनि यसैगरी बस्नुपर्छ।’

भिन्न-भिन्न प्रकारका मान्छेहरूबीच पनि प्रेम हुनुपर्छ, र गरिनुपर्छ भन्ने पाठ उनीबाट सिक्नुपर्ने भन्दै प्रियंकाले लेखेकी छिन्, ‘एउटा हँसिलो चेहेराको आज यसरी दुखद् अन्त्य भएको छ।’

साभार :सेतोपाटी डटकम, लेखक गजेन्द्र  बोहरा

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*