NewsFilmy

फ्लप फिल्मका हिट हिरो

सौगात मल्ल : क्षमतावान् अभिनेता

  • September 24, 2014 5:25 am
  • News FIlmy

saugat

गोकर्ण गौतम 

फिल्मी कलाकार दोहोरो भूमिकामा बाँच्छन्। एउटा वास्तविक जीवनमा, अर्को पर्दामा। तर, कोही यस्ता जब्बर कलाकार पनि हुन्छन्, जो आफ्नो ‘रियल’भन्दा ‘रिल’ चरत्रिमा बढी रमाउँछन्। फिल्ममा आफ्नो भूमिका जीवन्त बनाउन क्यामेरासामु मात्र हो इन, बाहिर पनि त्यही भूमिकामा जिउने कठोर प्रयासमा हुन्छन्, ताकि अभिनय मूर्त र तार्किक होस्। तिनै मुडी कलाकारमध्ये एक हुन्, सौगात मल्ल।

लुटबाट हाकु कालेको ट्रेडमार्क बनाएका सौगात नेपाली फिल्मवृत्तमा पात्रमा पनि जीवन खोज्ने अभिनेताका रूपमा परिचित छन्। पात्रको पृष्ठभूमि र मनोविज्ञान अध्ययनमा उनले देखाएको सक्रियता उदाहरणीय छ। “उहाँ (सौगात)ले एक्टरको अभिनय झूट  हुन्छ भन्ने प्रमाणित गर्नुभएको छ,” उनको पछिल्लो फिल्म उत्सवका निर्देशक कुमार भट्टराई भन्छन्, “किनभने, उहाँ संवाद बोल्ने मात्र भन्दा चरित्रसँग भिज्ने प्रयास गर्नुहुन्छ।” लुटपछि रिलिज भएका आठ फिल्ममा सौगातको भिन्न भूमिका र जीवन्त अभिनयले  कुमारको भनाइ पुष्टि गर्छ।

छड्केमा प्रकृतिप्रेमीको भूमिकामा देखिएका सौगात उमामा प्रहरी अधिकृत बने। वधशालामा यातनापीडित माओवादी बन्दी, सुनगाभामा पुरातनवादी सोच भएको आर्मी, कथामा भकभके केटो, फिटकिरीमा परिवार र जागिरको चेपुवामा परेको प्रहरी अधिकृत, मुखौटामा ग्याङस्टार अनि उत्सवमा गायक। यी सबै पात्रको सोच र मनोविज्ञान भिन्न मात्र होइन, कतिपय अवस्थामा विपरीत छ। तर, यो चुनौतीलाई सौगातले अवसरका रूपमा लिए र हरेक भूमिकाबाट प्रशंसा बटुले। भलै, फिल्म फ्लप किन नहुन् तर उनको अभिनय हिट भयो। सौगातका गुरु तथा निर्देशक/कलाकार अनुप बराल भन्छन्, “फिल्म फ्लप हुँदा पनि सौगातको भूमिका दर्शकको मानसपटलमा किन गड्यो भन्ने प्रश्नमै उनको क्षमता लुकेको छ।” अनुपको भनाइमा प्रचुर कल्पनाशक्ति र त्यसलाई काँटछाँट गरेर पर्दामा पोख्न सक्ने खुबीले सौगातलाई बाँकी अभिनेताभन्दा अलग र अग्लो बनाएको हो।

अनुपले ०५६ सालबाट सौगातको अभिनयप्रतिको लगावलाई नजिकबाट नियालिरहेका छन्। त्यतिबेला उनी जात सोध्नु जोगीको नाटक निर्देशन गर्दै थिए। मुख्य भूमिकामा खेलाउने तय भइसकेको कलाकार अन्तिम समयमा नभ्याउने भएपछि अनुपको आँखा त्यही नाटकका कोरस अर्थात् सौगाततिर मोडिएको थियो। “स-साना भूमिकामा पनि उसको मिहिनेत देखेर म निकै प्रभावित भएको थिएँ,” अनुप सम्झन्छन्, “त्यसैले मुख्य भूमिकामा यो केटोलाई अझ मिहिनेत गराउन सक्छु भन्ने आँट आयो।”

नभन्दै उनको आँट र विश्वासलाई सौगातले पूरा गरिदिए। नेपाली रंगमञ्चको उत्कृष्ट नाटकको सूची बनाउँदा जात सोध्नु जोगीको छुटाइयो भने अधुरो हुन्छ। तर, दीर्घकालीन फाइदा अनुपभन्दा सौगातलाई बढी भयो। त्यही नाटकको बमे पात्रले उनलाई रंगमञ्चमा स्थापित गरायो। पहिलो फिल्म कागबेनीमा मौका पाउनुको पछाडि पनि त्यही नाटकको योगदान छ। किनभने, कागबेनीका कास्टिङ डाइरेक्टर पनि अनुप नै थिए। भूषण दाहाल निर्देशित यो फिल्मबाट सौगातले आफूलाई आमभन्दा फरक अभिनेता भएको छनक दिए। तर, यसलाई प्रमाणित गर्न उनले अरू पाँच वर्ष कुर्नुपर्‍यो, लुट रिलिज नहुन्जेलसम्म। त्यसभन्दा अगाडिका दासढुंगा र के यो माया होले उनको करिअरमा खासै फाइदा पुर्‍याएन। नेवारी लबज मिश्रति हाकुकालेको भूमिकापछि उनी निर्देशक/ निर्माताको मात्र होइन, दर्शकको पनि पहिलो रोजाइ बनेका छन्।

सौगातले पर्दापछाडि गरेको मिहिनेतका सामु भने गरिएको प्रशंसा पनि फिक्का लाग्छ। किनभने, चरत्रिलाई जीवनसँग नजिक गराउन सौगात जति संवेदनशील सायदै अरू कोही अभिनेता होलान्। खास गरी पात्रको पृष्ठभूमि अध्ययन गरेर उनी आफ्नो अभिनयमा निपुणता ल्याउने प्रयास गर्छन्। जस्तो कि, उमामा प्रहरी अधिकृतको भूमिका निधो भइसकेपछि उनले युद्ध भोगेका करिब आधा दर्जन प्रहरीसँग प्रत्यक्ष/अप्रत्यक्ष संगत गरेका थिए। वधशालामा माओवादी कार्यकर्ता बन्दा पूर्वलडाकूसँग धेरै हिमचिम बढाए। उनीहरूको पीडा र मर्का बुझ्ने प्रयास रहन्थ्यो उनको। ड्रग्सको कुलतमा फसेको ग्याङस्टारको हाउभाउ र मनोविज्ञान बुझ्न धेरै दिन ठमेल चहारे, फिल्म मुखौटाका लागि। संघर्षरत गायकसँग धेरै दिनको भेटघाट र कुराकानीपछि मात्र उनी उत्सवका लागि तयार भएका थिए। “फिल्ममा मैले निभाउने भूमिकासँग मिल्दोजुल्दो पात्र वास्तविक जीवनमा धेरै हुन्छन्,” सौगात आफ्नो अभिनय अब्बल हुनुको कारण यसरी खोल्छन्, “उनीहरूको मनोविज्ञान, सोच, हाउभाउ, बोल्ने तरिकाको प्रत्यक्ष/अप्रत्यक्ष अध्ययन गरे पछि मात्र अभिनयका लागि मानसिक रूपमा तयार हुन्छु।” यसो गर्न कम्तीमा तीन महिना लाग्ने भए पनि समय अभावका कारण १५-२० दिनमै तयार भइसक्नुपर्ने बाध्यता रहेको गुनासो छ उनको। सुटिङ सकिएपछि आफूले निर्वाह गरेको भूमिकालाई दिमागमा आउनै दिँदैनन् उनी। यसो भयो भने नयाँ फिल्मको पात्रमा नकारात्मक प्रभाव पर्ने बताउँछन्। सायद यही कारण हुनुपर्छ, नेपाल संवाददातासँग कुराकानी गररिहँदा उनले विगतका कुनै भूमिकाका बारेमा बोल्न चाहेनन्। यति बेला उनी नयाँ फिल्म सडङको कालु यादव मात्र हुन्। “अहिले मात्र होइन, रणभूमि, दागजस्ता फिल्ममा हिरोको पछाडि नाच्दा पनि म यति नै मिहिनेत गर्थें,” सौगात केही गम्भीर हुँदै भन्छन्, “फरक कति मात्र हो भने त्यति बेला मेरो कामलाई महत्त्व दिने कोही हुँदैनथे।”

सौगातको अभिनयप्रतिको यो लगाव र उच्च व्यावसायिक अभ्यासको उनलाई काम गराएका निर्देशक मात्र होइन, समकालीन अभिनेता पनि खुलेर प्रशंसा गर्छन्। जस्तो, दयाहाङ राई। बाहिरबाट हेर्दा दयाहाङ सौगातका प्रतिस्पर्धीजस्तो देखिन्छन् तर उनी आफैँ भने सौगातको अभिनय क्षमता र लगाव सामु फिक्का रहेको बताउँछन्। “लुटपछाडि सौगात दाइले जति सशक्त चरत्रि निभाउनुभएको छ, त्यो हत्तपत्त कसैले सक्दैन,” दयाहाङ भन्छन्, “हरेक फिल्ममा सौगात मल्लभन्दा पनि कुनै नयाँ कलाकारले अभिनय गरेजस्तो फ्रेस महसुस हुन्छ।”

कतिसम्म भने दयाहाङ सौगातजस्तो ‘पावरफुल र भर्सटाइल’ एक्टर जन्मन अझ २० वर्ष लाग्ने दाबी गर्छन्। आफ्नै प्रतिस्पर्धीको किन यसरी बखान गररिहेका छन् भने पात्रलाई जीवन्त बनाउनकै खातिर सौगात छड्केमा चितवनको गर्मीमा खरानी दलेर जंगल-जंगल उफ्रेको र पौडी खेल्न नआए पनि खोलामा हाम फालेको देखेका छन् उनले। कहिल्यै चुरोट नपिउने भए पनि रियल फिल दिन दासढुंगामा १७-१८ खिल्ली चुरोट तानेको पनि देखेका छन्। “यस्तो त्याग कम्तीमा मचाहिँ गर्न सक्दिनँ,” दयाहाङ भन्छन्, “मैले चिने/जानेसम्म सौगात दाइको दिमागमा अभिनय मात्र छ। साथीभाइ, परिवार, मोजमस्ती उहाँका लागि गौण कुरा हुन्।”

सौगातको जीवनशैली र आनीबानी हेर्दा दयाहाङको कुरा मेल खान्छ। फिल्म सुटिङ भइरहेका बेला उनी निकै कम मान्छेसँग भेट्छन्। घरमा पनि राम्रोसँग कुरा गर्दैनन्। ताकि, चरत्रिप्रतिको एकाग्रता भंग नहोस्। “अनावश्यक भेटघाट र कुराकानीले चरित्रमै बसिरहन निकै गाह्रो हुन्छ। त्यसैले सेटबाहिर पनि चरत्रिबाट भाग्न सक्दिनँ,” सौगातको भनाइ छ, “सायद मेरो कमजोरी हो यो।”

उनको एकाग्रता कति कठोर छ भने इन्टरनेट पनि चलाउँदैनन्। अहिलेसम्म फेसबुक एकाउन्ट खोलेका छैनन्। सामान्य मोबाइल सेट बोक्छन्। पत्रपत्रिका, रेडियो, टीभीबाट पनि टाढा हुन्छन्। एउटा सेड्युलमा एउटा मात्र फिल्ममा काम गर्छन्। फिल्ममा जुन नाम छ, सेटमा त्यही नामले बोलाउन लगाउँछन्। सोही अनुरूपको व्यवहार गर्छन्। प्रदर्शनका क्रममा रहेको फिल्म श्री ५ अम्बरेकी निर्देशक दीपा बस्नेतसँग यस्तै एउटा रमाइलो प्रसंग छ। सुटिङ सेटमा सौगातलाई सोध्दै-खोज्दै आउने फ्यान धेरै हुन्थे तर कसै ले पनि उनलाई चिन्दैनथे। जबकि, उनी सबैबाट घेरिएका हुन्थे। “जसले सौगातलाई खोजिरहेको छ, उसकै छेउमा भएपछि कसैले भेउ पाउँदैन्थ्यो,” दीपा सम्झन्छिन्, “किनभने, उहाँ टेक नहुँदा पनि चरत्रिकै गेटअप र हाउभाउमै रहनुहुन्थ्यो।” उनी कतिसम्म प्रभावित भएकी छन् भने सौगातलाई पानीसँग तुलना गर्छिन्। जुन भाँडामा राख्यो, त्यही साइज लिने अर्थात् जस्तो भूमिका दियो, त्यसमै पूरापूर समाहित हुने।

दीपाजस्तै सौगातको अभिनयबाट मक्ख हुने फिल्मकर्मी र दर्शक सायदै कोही होलान्। मुखौटा सुटिङका बेला राजेश हमालले उनलाई पटक-पटक धाप मारेका थिए। नयाँ पुस्ताका हिरो-हिरोइनसम्म उनीसँग काम गर्न लालायित देखिन्छन्। यही क्रेजका कारण हुनुपर्छ, पोस्टर र प्रमोसनमा पनि सौगातलाई पर्याप्त स्पेस दिइन्छ तर यहाँ उल्लेखनीय के छ भने उनको अभिनयको चर्चा शिखरमा हुँदा पनि लुटपछाडिका कुनै फिल्म व्यावसायिक रूपमा सफल भएका छैनन्, न हाकुकालेको छवि नै प्रतिस्थापन भएको छ। त्यसैले उनलाई ‘फ्लप फिल्मका हिट हिरो’को ट्याग लागेको छ।

लगातारको असफल व्यापारले अभिनेताको करिअरमा ढिलो/चाँडो असर पर्छ नै। सौगात स्वयंले पनि यो कुरा महसुस गरेका छन्। “तर, मैले के गर्नु ?,” उनी केही चिन्तित हुँदै भन्छन्, “जबकि, मैले आफूलाई दिइएको भूमिका शतप्रतिशत राम्रो गर्ने प्रयास गरेको छु।” उनले प्रस्ताव आएकामध्ये राम्रो फिल्म छानेर खेल्ने गरेको भन्न पनि छुटाएनन्। आफूलाई ब्लकबस्टर हुन्छ जस्तो लागेको फिल्म रििलज हुने बेलासम्म निकै फितलो भइसक्ने भन्दै उनले अप्रत्यक्ष रूपमा फिल्म फ्लप हुनुका पछाडि निर्माता/ निर्देशकको कमजोरी रहेको औँल्याए। उनको भूमिका हिट तर फिल्म फ्लप हुनुबाट यही कुरा पुष्टि हुन्छ। जुन तीतो यथार्थ उनलाई काम गराएका तीनै निर्देशन अनुप, कुमार र दीपा पनि स्वीकार्छन्। “उहाँ (सौगात)सँग भएजति अभिनयको रस हामी (निदेर्शक)ले अझ निचोर्न सकेका छैनौँ,” कुमारको बुझाइ छ, “त्यसैले मिहिनेत अनुसार उहाँको अभिनयबाट व्यावसायिक फाइदा लिन नसकिएको हो।”

उनी फिल्मको ग्राफ नै बिग्रिएपछि एउटा अभिनेताको काम जति उत्कृष्ट भए पनि त्यो अर्थपूर्ण नहुने बताउँछन्। “त्यसैले कमजोरी अभिनेताको भन्दा निर्देशकको बढी हो,” उनको निष्कर्ष छ। यो कुरा सत्य भए पनि फ्लप हिरोको बिल्ला हटाउन आफ्नो भूमिका मात्र नभई हरेक पक्षमा अब्बल हुने फिल्म मात्र खेल्नुचाहिँ सौगातको अहिलेको सबैभन्दा ठूलो चुनौती हो।

‘ओभर एक्टिभ’

अनुप बराल, निर्देशक/कलाकार

सौगातले आफूलाई यो समयको सबैभन्दा भर्सटाइल र क्षमतावान् अभिनेताका रूपमा प्रमाणित गरसिकेका छन्। जात सोध्नु जोगीकोदेखि फिटकिरीसम्म आइपुग्दा उसमा परपिक्वता आएको महसुस गरेको छु। चरत्रिका बारेमा निर्देशकभन्दा बढी संवेदनशील हुन्छ। चरत्रिलाई बुलन्द बनाउन अध्ययन, अनुसन्धान गर्छ। त्यस क्रममा सिकेका कुरा निर्देशकसँग छलफल गरेर पर्दामा उतार्ने प्रयास गर्छ। धेरै हदसम्म उसको यो मिहिनेत र लगाव फिल्मका लागि फलदायी हुन्छ। तर, केही फिल्ममा निर्देशकचाहिँ उसमाथि भर परेको देखियो। उसमा पनि आफ्नो भूमिका आफैँ निखार्न सक्छु भन्ने एकखालको घमण्ड पलाएको हुन सक्छ। निर्देशक कमजोर भएपछि स्वाभाविक रूपमा अभिनेतामा यस्तो भावना आउँछ। तर, भुल्न नहुने कुरा के हो भने फिल्म भनेको निर्देशकको माध्यम हो। चरत्रि फिल्ममा फिट हुनुपर्छ। अरू पात्रसँगका सम्बन्ध पनि स्क्रिप्ट अनुसार नै हुनुपर्छ। होइन भने एउटा पात्र जति सशक्त भए पनि सार्थक हुँदैन। बरू कागको बथानमा बकुल्लाजस्तो हुनुपर्छ। छड्के, मुखौटाजस्ता फिल्ममा मलाई यस्तै महसुस भएको थियो। त्यसैले सौगातले आफ्नो भूमिकालाई लिएर ‘ओभर एक्टिभ’ हुनु उसकै लागि हानिकारक हुन सक्छ। चरत्रिको दायरा निर्देशकले बनाउने हो, अभिनेताले होइन।

फिल्म र भूमिका

छड्के

यो फिल्ममा सौगात प्रकृतिप्रेमी वनस्पति विज्ञानका विद्यार्थीका रुपमा देखिएका थिए। जसले प्रकृति विनाश गर्छ, उसैलाई सिध्याउने भूमिका थियो उनको।

वधशाला

यो फिल्ममा सौगातले सेनाको यातनाबाट निकै प्रताडित भए पनि आफ्नो पार्टीको सिद्धान्त र आदर्शबाट विचलित नहुने माओवादी कार्यकर्ताको भूमिका निर्वाह गरेका थिए।

सुनगाभा

समलिंगी सम्बन्धमाथि बनेको यो फिल्ममा सौगातलाई परम्परावादी सोच भएको सैनिकको अवतारमा देखिएको थियो। जसकी बहिनी समलिंगी हुन्छे।

उमा

दसवर्षे युद्धमा केन्दि्रत यो फिल्ममा सौगातले प्रहरी अधिकृतको भूमिका निर्वाह गरेका थिए। जसकी बहिनी माओवादी छापामार थिइन्।

कथा

यो फिल्ममा सौगातलाई हिमाली भेगको भेडा गोठालोका रुपमा देखिएको थियो। जो आफैँ भकभके थियो र उसकी प्रेमिका लाटी थिइन्।

फिटकिरी

यो फिल्ममा सौगात एउटा धनाढ्य व्यापारीको अपहरणकारी पक्रने गहन जिम्मेवारी पाएको प्रहरी अधिकृतको चरित्रमा थिए। सागै पारिवारिक विचलनको चपेटा पनि थियो।

मुखौटा

यो फिल्ममा सौगात ठमेलका नामुद डनका छोराको भूमिकामा थिए। ड्रग्सको कुलतमा फसेकाले आफ्नै बाबुले विश्वास नगरेर उनी मनोवैज्ञानिक पीडामा परेका थिए।

उत्सव

सौगातको कलरफुल फिल्ममध्ये उत्सव पनि एक हो। यसमा उनी क्षमतावान् तर सन्काहा गायकको भूमिकामा थिए। साभार : नेपाल साप्ताहिक ईकान्तिपुर डटकम

One thought on “फ्लप फिल्मका हिट हिरो

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*